arrow

जनकपुरधाममा विवाहपञ्चमीको रौनक

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
janki-mandir.jpg

जनकपुरधाम । जनकपुरधाम यतिबेला विवाहपञ्चमीको रौनक र रमझममय बनेको छ । सीताराम विवाहपञ्चमी महोत्सवको मुख्य दिन बुधवार जनसागर उर्लिएको छ। विवाहपञ्चमीको मुख्य दिन बुधबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ।

विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन् । स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ। बुधबार राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरेको थियो। सीता-राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ।

No description available.

विवाहपञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। जनकपुरधाममा विवाहपञ्चमीमा सहभागी श्रद्धालुको सुरक्षार्थ २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। भिडभाडमा हुनसक्ने आपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ ।

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज विवाहपञ्चमी मनाइँदै छ । मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको थियो । सोही आधारमा जानकी मन्दिरले हरेक वर्ष विवाहपञ्चमी उत्सव मनाउँदै आएको छ ।

No description available.

त्रेता युगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ।

रामायणमा वर्णन भएअनुसार जनकपुरधामको रङ्ग भूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

मिथिलामा हुने विवाहमा गरिने सबै विधि अपनाएर प्रतिकात्मक सीता-रामको विवाह गरिन्छ । पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर सम्पन्न भइसकेको छ । आज बुधबार स्वयंवर र विवाह संस्कार सम्पन्न हुँदै छ ।

No description available.

राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी ऐतिहासिक रङ्ग भूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्ग भूमिमा लगियो । त्यहाँ स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह गरिने परम्परा रहेको जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले बताए ।

भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक ५ वर्षमा जन्ती आउँछन् । यस वर्ष भने औपचारिक रूपमा जन्ती आएका छैनन् । तर पनि ५ लाख भन्दा बढी साधु सन्त, महन्त तथा श्रद्धालु आएको वैष्णवले जानकारी दिए।

विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको थियो । भने जनकपुरधामका शैक्षिक संस्थाहरू मङ्गलवार देखि नै बन्द रहेको छ । शैक्षिक संस्थाहरू शुक्रवार देखि सुचारु हुनेछन्।



नयाँ