arrow

लैंगिक हिंसा मनैदेखि अन्त्य गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
gender hyaressment.jpg

पोखरा । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्ध कानूनी सचेतना एवं अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । 

लैंगिक तथा सामाजिक समावेशीकरण समितिको व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी कास्कीले कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रम शुभारम्भ गर्दै उच्च अदालत पोखराका न्यायाधीश श्रीधरा पुडासैनीले हिंसा सहनु आफैमा ठूलो गल्ती भएको बताइन् । आफूले पनि हिंसा नगर्ने र सहन पनि नसक्ने प्रण गर्नुपर्नेमा उनको जोड थियो ।

हिंसाको अन्त्य गर्ने अभियान घरैदेखि शुरु गर्नुपर्नेमा जोड दिंदै न्यायाधीश पुडासैनीले सबै भित्री मनैदेखि हिंसा अन्त्य गर्छु भनेर लाग्नुपर्ने बताइन् । 

उनले हिंसा विश्वव्यापी रुपमै अन्त्य हुनुपर्ने खाँचो औंल्याउँदै आगामी पुस्ताले यस्तो दिवस मनाउन नपरोस् भन्ने कामना गरिन् ।

रेडक्रसा सोसाइटी कास्कीका अध्यक्ष डोलराज पाण्डेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्व र औचित्यवारे प्रकाश पारेका थिए । 

समितिका अध्यक्ष उर्मिला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस कास्कीकी सदस्य आराधना सुवेदीले रेडक्रस सिद्धान्त वाचन र सदस्य रमा कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

कार्यक्रममा रेडक्रसका विभिन्न २० उपशाखाका प्रतिनिधि सहभागी थिए । सहभागीलाई अधिवक्ता तारा शर्माले लैंगिक हिंसा र कानूनी उपचारबारे प्रशिक्षण दिएकी थिइन् ।

लैङ्गिक समानता ल्याउन कानुनमा व्यवस्था भएको कुरा, कानुनी उपचार र उजुरी गर्न जानुपर्ने निकाय र समय अवधि जस्ता विषयमा प्रशिक्षक शर्माले जानकारी गराइन् । 

उनले शारीरिक हिंसा, मानसिक हिंसा, सामाजिक र साँस्कृतिक हिंसा, यौनिक वा यौन हिंसा, आर्थिक हिंसा जस्ता समस्या उत्पन्न भए तुरुन्तै जानकारी गराउन आग्रह गरिन् ।

महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टर फर उमन्स ग्लोबल लिडरसिपको सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मीको समूहले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुआत गरेका थिए । 

त्यसपछि विश्वव्यापी रुपमा हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा मनाउँदै आएको पाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ