काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट सत्तामा पुगेपछि नेताहरु सत्तालिप्सा हुने गरेको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्दै प्रचण्डले राजनीतिक दलहरुले आन्दोलन र धरातल विर्सने गरेकाले यसतर्फ सचेत रहन आग्रह गरे ।
‘आन्दोलनमा हुँदा वा सडकमा हुँदा जनतासँग गरेको प्रतिवद्धता हामीले विर्सने गरेका छौं । सत्तामा पुगेपछि कहीं न कहीं धर्ती छाडेजस्तो महशुस गर्ने गरेका छौं’ उनले भने,‘किन सत्तामा पुगेपछि आफ्ना प्रतिज्ञा र प्रतिवद्धताबाट बिचलित हुन्छन पार्टीहरु वा नेताहरु । किन जनताले सोचे जसरी काम गर्न सक्दैनन्, । किन शुशासन दिन सक्दैनन । किन भ्रष्टाचार रोक्न सक्दैनन् ।’
आन्दोलनमा गरेको त्याग र बलिदान गर्ने पार्टीहरु सत्तामा पुग्दा सत्ता लिप्साबाट विसंगती र विकृतीको शिकार हुने गरेकाले मुलुकलाई हानी भइरहेको उनको भनाइ थियो ।
सत्तामा पुगेपछि कतै न कतै अहंकार, कुनै किसिमको दम्भ आउने र त्यसबाट जनतासँगको सम्बन्ध कमजोर हुँदै जाने अनुभव आफूले पनि गरेको उल्लेख गर्दै यसतर्फ सचेत हुनुपर्ने धारणा राखे ।