arrow

विनोद चौधरीले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
binod-chaudhary2.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । प्रतिष्ठित नेपालकै सबैभन्दा ठूलो औद्योगिक घरानियाँ चौधरी ग्रुपका अध्यक्षसमेत रहेका सांसद चौधरीले मधेसीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् । 

चौधरी ईआईसीटी नेपालले गरेको महाधिवेशन प्रतिनिधि सर्वेक्षणमा औद्योगिक क्षेत्रबाट आएकामा सबैभन्दा लोकप्रियमा परेका थिए । उनलाई केन्द्रीय कार्यसमितिमा देख्न चाहनेको संख्या उल्लेख्य रहेको थियो । 

आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिशनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । ‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पूरा हुँदै आएका छन्’, उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो ।’ 

राष्ट्र निर्माणको आफ्नो सपनालाई पूरा गर्न सबैको सहयोग पाउनेमा आफू विश्वस्त रहेको चौधरीले बताएका छन् । ‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरु सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरुको सिर्जनशील सोच, शिल्प, श्रम र केही गरौं भन्ने उत्साह भएकाले नेपाली कांगेसले सही नेतृत्व पाउनु पर्छ ।’  

नेता चौधरी ‘नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना’ केन्द्रित विशेष समितिका संयोजक हुन् । उक्त समितिले पार्टीमा आबद्ध युवाहरुलाई उद्यमी बनाउन गरिखाने अभियान संचालन गरिरहेको छ । उनको नेतृत्वमा समितिले सातै प्रदेशमा योजना र उर्जा भएका युवाहरुलाई उनीहरुकै परियोजनामा लगानी र अन्य आवश्यक सिप उपलब्ध गराउन आवश्यक सहजीकरण गरिरहेको छ । 

नेपाली कांग्रेसले कोरोना महामारीका बेला अस्तव्यस्त भएको आर्थिक क्षेत्रको उत्थानका लागि सुझाव दिन गठन गरेको समितिको संयोजक पनि थिए, चौधरी । उनी गत संसदीय निर्वाचनमा कांग्रेसको निर्वाचन प्रचारप्रसारमा निकै सक्रिय थिए । देशभरि भएका सभाहरुमा कांग्रेसका लागि भोट माग्न पुगेका थिए । चौधरी पmोब्र्स म्यागेजिनमा सूचीकृत एकमात्र नेपाली डलर अर्बपति हुन् । 
 



नयाँ