arrow

कांग्रेस महाधिवेशन प्रतिनिधि सर्वेक्षण

सर्वेक्षण रिपोर्ट : महाधिवेशन प्रतिनिधिको नजरमा कांग्रेस केन्द्रीय कार्यसमितिमा छुट्न नहुने लोकप्रिय अनुहार  

logo
बाबु नेपाली,
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
congress-14th-popular-face-survey.jpg

काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा केही अनुहार स्थापित हुनुपर्ने र विभिन्न पेशा र तप्काबाट नयाँ अनुहार आउन् भन्ने चाहना १४ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरुले राखेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कार्यसमितिमा पूर्णकालीन राजनीतिमा सक्रिय नेताहरुसँगै अरु कुन कुन पेशा व्यवसाय वा क्षेत्रका व्यक्ति केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनुपर्छ भनी गरिएको सर्वेक्षणमा महाधिवेशन प्रतिनिधिले खुलेर जवाफ दिएका हुन् । 

खासगरी अहिले पनि कार्यसमितिमा रहेका तर थप जिम्मेवारीपूर्वक पदाधिकारीमा आउनुपर्छ भन्ने चाहना राख्ने प्रतिनिधिहरुको लिष्टमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, मिनेन्द्र रिजाल, देवराज गुरुङ, मिनबहादुर विश्वकर्मा, फर्मुल्ला मन्सुर, जीवन परियार, चित्रलेखा यादव, भिष्मराज आङदेम्बे, उमाकान्त चौधरी, मानबहादुर विश्वकर्मा, गुरुराज घिमिरे, महेश आचार्य लगायतका नेताहरु परेका छन् ।

केही नेताहरुले इच्छा गरेभन्दा फरक पदका लागि प्रतिनिधिले मत राखेको पनि पाइएको छ । तर उनीहरु जसरी पनि कार्यसमितिमा रहन पर्ने मान्यता प्रतिनिधिहरुको रहेको पाइएको हो। यसले पार्टीलाई नयाँ उर्जा दिने विश्लेषण सर्वेक्षणको नतिजाबाट गर्न सकिन्छ । 

योसँगै पेशा व्यवसायबाट कांग्रेस कार्यसमितिमा रुचाइएको सबैभन्दा लोकप्रिय नाम भने विनोद चौधरीको परेको छ । ३३ प्रतिशत प्रतिनिधिले उद्योग व्यवसायीहरुलाई नयाँ कार्यसमितिमा देख्न चाहिरहँदा नेपालकै प्रतिष्ठित घरानियाँ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई सबैभन्दा लोकप्रिय मत आएको हो । 

कांग्रेसको कोटाबाट प्रतिनिधि सभाको समानुपातिक सांसद रहेका चौधरीलाई कांग्रेसको कार्यसमितिमै देख्न चाहनेको संख्या सर्वाधिक हुनुले विभिन्न पेशा व्यवसायीलाई राजनीतिमा आएर सेवा गर्नका लागि पक्कै पनि थप हौसला मिल्ने देखिन्छ । 

सर्वेक्षणमा सहभागी सुदूरपश्चिमसँगै कर्णालीको विकट क्षेत्रका प्रतिनिधिले समेत चौधरीको नाम लिनुले उद्योगी व्यवसायी पनि पार्टीको कार्यसमितिमा हुँदा विकास र समृद्धिको ढोका खोल्न मद्धत पुग्ने उनीहरुको मतले विश्वास गर्न सकिन्छ । 

अहिले महाविधेशन प्रतिनिधिको झण्डै ६० प्रतिशत संख्या नयाँ अनुहार हो । यो संख्याले राजनीतिकर्मीमात्र नभइ नीति निर्माण र विकासमा लाग्ने बाटोमा विभिन्न पेशाबाट पनि आउनुपर्छ भनी जोड गरेका हुन् । 

कार्यसमितिमा आउनुपर्छ भनी मत पाउने पेशाकर्मी

र्‍याण्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिहरुलाई बढीमा तीन जना आफूलाई मन पर्नेहरुको नाम लिन दिइएको विकल्पमा नवप्रवेशीहरुमा सबैभन्दा बढी मत उद्योगी व्यापारीमा आएको छ । जसमा ३३ प्रतिशतले उद्योगी व्यवसाय क्षेत्रका आउन् भन्ने चाहना व्यक्त गरेका छन् ।   

निर्माण व्यवसायी आउन् भन्ने चाहना व्यक्त गर्नेहरु २४.४ प्रतिशत रहेका छन् । १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनबाट देशभर अहिलेसम्म निर्माण व्यवसायी क्षेत्रको समेत प्रतिनिधित्व गर्दै १२ जना निर्माण व्यवसायीहरु जिल्ला सभापति बनेको सन्दर्भमा २४.४ प्रतिशतलाई कार्यसमितिमा आएको देख्ने चाहना पाइएको हो ।  

तेस्रो स्थानमा शिक्षक तथा प्राध्यापकहरु रहेका छन् । नयाँ प्रवेशमा १०.२ प्रतिशत शिक्षक तथा प्राध्यापकको प्रतिनिधित्व गर्दै नयाँ कार्यसमितिमा पुगुन् भन्ने कामना महाधिवेशन प्रतिनिधिहरुले गरेका हुन् । 

चौथो स्थानमा विद्यार्थीहरु रहेका छन् । १४ औं महाधिवेशनमा ६० प्रतिशत बढी प्रतिनिधिहरु नयाँ भएकाले पनि विभिन्न पेशाकर्मी सहभागी भएको देख्न चाहने बढेको बुझ्न सकिन्छ । त्यसमा विद्यार्थीहरुको प्रतिनिधित्व नयाँ कार्यसमितिमा ४ प्रतिशतको हाराहारीमा हुने सर्वेमा देखिएको छ । 

पाँचौं स्थानमा पत्रकारहरु पनि कार्यसमितिमा रहुन् भन्ने कामना गर्नेहरु छन् । उक्त प्रतिनिधिहरुको संख्या ३.४ प्रतिशत रहेको छ । छैटौं स्थानमा चिकित्सकहरु कार्यसमितिमा रहेको देख्न चाहने संख्या रहेको छ । उक्त संख्या २.८ प्रतिशत रहेको छ । 

सातौं स्थानमा ट्रेड युनियन र मजदूरहरु रहेका छन् । उनीहरुलाई कार्यसमितिमा आएको देख्ने चाहना भएकाहरुको संख्या २.६ प्रतिशत रहेको छ । 

कृषकहरु पनि कांग्रेसको नयाँ कार्यसमितिमा आउनु पर्छ भन्नेहरु पनि रहेका छन् । यो संख्या २.५ प्रतिशत रहेको छ । यसरी कृषक चाहनेहरुको संख्या आठौं ठूलो हो । 

सर्वेअनुसार नवौं स्थानमा अधिवक्ता र कलाकार आउनु पर्छ भन्ने संख्या समान १.९ प्रतिशत रहेको छ । एघारौं स्थानमा इञ्जिनियरहरु परेका छन् । इञ्जिनियर आउन् भन्ने चाहना गर्नेहरुको संख्या १.८ प्रतिशत रहेको छ । 

बाह्रौं स्थानमा वैदेशिक रोजगार उद्यमी परेका छन् । यो पेशाबाट पनि कार्यसमितिमा आउन् भन्ने चाहना गर्ने प्रतिनिधिहरुको संख्या १.६ प्रतिशत रहेको छ । तेह्रौं स्थानमा पर्यटन तथा होटल क्षेत्र रहेको छ । त्यो क्षेत्रका प्रतिनिधि आउनुपर्छ भन्नेहरुको संख्या १.५ प्रतिशत रहेको छ ।  

त्यसैगरी राजनीतिकर्मी बाहेक अन्य पेशाकर्मी कार्यसमितिमा आउनु हुन्न भन्ने संख्या पनि रहेको छ । त्यो संख्या ३.९ प्रतिशत रहेको छ । थाहा छैन भन्ने संख्या २.८ प्रतिशत रहेको छ ।

त्यस्तै अन्य कोही भन्नेहरु १ प्रतिशत रहेका छन् भने उत्तर दिन नचाहनेको संख्या ०.६ प्रतिशत रहेको छ । एनजीओबाट आएकाहरु पनि कार्यसमितिमा हुनुपर्छ भन्नेहरुको संख्या ०.५ प्रतिशत रहेको छ । 

यो सर्वेक्षण हाम्रा कुरा डटकम सञ्चालन गर्दै आएको कम्पनी ईआईसीटी नेपालले शेयरकाष्ट इनिशियटिभ नेपालसँगको सहकार्यमा गरेको हो । सर्वेक्षणका लागि सम्भाव्यता छनोट विधिबाट प्रतिनिधिको छनोट गरिएकाले गर्दा सात वटै प्रदेशका सबै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू अन्तर्वार्ताका लागि छनोटमा पर्ने उत्तिकै सम्भावना रहेको थियो । 

यद्यपि कुनै जिल्लाका केही निर्वाचन क्षेत्रहरूमा यो सर्वेक्षण शुरु हुँदासम्म महाधिवेशन प्रतिनिधि चयन नभइसकेकाले सातवटै प्रदेश र काठमाडौं उपत्यका गरी ७७ मध्ये ७० जिल्लाहरूमा मात्र सर्वेक्षण गरिएको हो । 

छनोटमा परेका महाधिवेशन प्रतिनिधिहरूलाई नै व्यक्तिगत तवरमा अन्तर्वार्ताका लागि टेलिफोन गरिएको थियो । 

यसमा वर्तमान केन्द्रीय कार्यसमितिमा रहेर स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यक्ति, जिल्ला पार्टी सभापति, भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिबाट प्रतिनिधि बनेर आउने प्रतिनिधिहरूलाई भने सहभागी गराइएको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ