- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको अझैँ फेरिएको भर्जन फेला पारेको बताएका छन् । ओमिक्रोनको यो नयाँ भर्जन पीसीआर परीक्षणका क्रममा फेला पार्नसमेत कठिन र लगभग असम्भव देखिएको दाबी गरेका छन् ।
यो नयाँ भर्जन ओमिक्रोन जस्तै भए पनि पीसीआर परीक्षणकै क्रममा ओमिक्रोन हो भनेर थाहा पाउन आवश्यक जीनमा परिवर्तन भएका कारण फेला पार्न कठिनाइ हुने भएको हो ।
यद्यपि, नियमित परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेछ । तर, कुन भेरियन्ट हो भनेर थाहा पाउन जीन सिक्वेन्सिङ नै आवश्यक हुनेछ ।
पीसीआर परीक्षणकै क्रममा कुन भेरियन्ट हो भनेर, थाहा पाउन सकियो भने यो ओमिक्रोन कति छिटो फैलिरहेको छ भनेर थाहा पाउन सजिलो हुन्छ । तर, जीन सिक्वेन्सिङ गर्दा सबै सङ्क्रमितहरू फेला पर्न कठिन हुन्छ ।
वैज्ञानिकहरूले ओमिक्रोनको नयाँ भर्जन कसरी फैलिन्छ र कस्तो असर पार्छ भनेर थप अनुसन्धानपछि मात्रै थाहा हुने बताएका छन् । ओमिक्रोनको यो नयाँ भर्जन दक्षिण अफ्रिका, अष्ट्रेलिया, क्यानडामा फेला परे पनि बेलायतलगायत जताततै फैलिसकेको हुनसक्ने अनुमान गरिएको छ ।
यो नयाँ भर्जनविरुद्ध खोपले पनि पर्याप्त काम गर्न नसक्ने प्रारम्भिक अध्ययनहरूले देखाइरहेका छन् ।