- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतदानको समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै साढे ३ घण्टापछि मात्र शुरु भएकाले मतदानको समय थप गरिएको हो ।
निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न ४५ मिनेटसम्म समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । दुई जना निर्विरोध भएका छन् ।
१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।