arrow

महजोडी टेलिकमका ब्राण्ड एम्बेसडर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
telecome-mahajodi.jpg

काठमाडौं । मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयका मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । 

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेका थिए ।   

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे ।   

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताए ।   

यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

मुलुकको कलाकारिता क्षेत्रमा विशिष्ठ पहिचान भएका ब्राण्ड एम्बेसडरद्वयको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सम्भव हुने अपेक्षा गरिएको टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
                                                                                                            
                                                                                                   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ