arrow

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन पोखरामा, तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
Nepal JCI.jpg

पोखरा । नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन २९ वर्षपछि पोखरामा हुने भएको छ ।

महाधिवेशन पुस १ देखि ३ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनको सबै तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ ।

महाधिवेशन ‘मानव विकासका लागि नेतृत्व विकास’ (लिडरसीप प्राक्टिसेज फर ह्यूमन डेभलपमेन्ट) मूल नारासहित हुनेछ ।

पोखरामा हुन लागेको यो महाधिवेशन तेश्रो हो । यसअघि १९८४ मा ११औं र १९९२ मा १९ औं महाधिवेशन पोखरामा भएको थियो । महाधिवेशनमा देशभरका १६१ शाखाका १३ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

त्यसबाहेक पर्यवेक्षक तथा परिवारका सदस्यसहित झण्डै चार हजार जना पोखरा आउने महाधिवेशन आयोजक समितिका निर्देशक ईश्वरप्रसाद कर्माचार्यले जानकारी दिए । महाधिवेशनको पहिलो दिन पुस १ गते उद्घाटन सत्र चल्नेछ ।

महाधिवेशन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिए । उद्घाटनकै दिन नेपाल जेसीजको प्रथम वार्षिक साधारणसभा र प्रकरण गोष्ठी हुनेछ ।

महाधिवेशनको दोश्रो दिन पुस २ गते महाधिवेशनमा सहभागी तथा प्रतिनिधिलाई पोखराका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गराइनुका साथै तालिम, सिनेटर बैठक, फेलोसिपका कार्यक्रमहरु, राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता तथा नेपाल जेसीजको दोश्रो साधारणसभा अन्तर्गत वर्ष २०२२ का राष्ट्रिय अध्यक्षलगायत पदाधिकारीहरुका उम्मेदवारका प्रतिवद्धता (ककस) कार्यक्रम हुने अध्यक्ष खनालले बताए ।

महाधिवेशनको तेश्रो दिन पुस ३ गते तेश्रो साधारण सभा हुने र सो साधारण सभाले ४० औं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने टुंगो लगाउनेछ । साथै सोहि दिनको चौथो वार्षिक साधारण सभामार्फत नया नेतृत्व चयन गर्ने कार्यतालिका रहेको उनले बताए ।

जेसीजमा राष्ट्रिय अध्यक्ष एक, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष चार र राष्ट्रिय उपाध्यक्ष १२ जना रहने व्यवस्था छ। बाँकी पदाधिकारी भने निर्वाचित अध्यक्षले मनोनित गर्ने प्रावधान छ ।

जेसीजको महाधिवेशनस्थल पोखरा प्रदर्शनी केन्द्र आकर्षक बनाइएको छ। प्रदर्शनी केन्द्रमा ध्वजा पताकाले सिंगारिएको छ भने आकर्षक स्वागतद्धार बनाइएको छ । 

केन्द्रमै बीचमा तालाबाराही मन्दिरसहितको फेवातालको नमूना राखिएको छ । महाधिवेशनस्थल बाहिर उम्मेदवारका व्यानरले पूरै ढाकिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ