arrow

शहीद स्मारक ए डिभिजन फुटबल लिगः पुस ३, ११ र २४ गते पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
pokhara Rangasala.jpg

पोखरा । शहीद स्मारक ‘ए डिभिजन फुटबल लिग’को इतिहासमा पहिलो पटक पोखरामा लिगका खेल सञ्चालन हुँदैछन् । विसं २०११ देखि नेपालमा शहीद स्मारक लिग सुरु भएकामा पहिलो पटक मोफसलले लिग आयोजनाको अवसर पाएको छ ।

लिग सुरु भएको ६७ वर्षपछि मनाङ मर्स्याङदी क्लबको अग्रसरतामा पोखराले लिगको आतिथ्य गर्ने मौका पाएको हो । पोखरा रङ्गशालालाई मनाङले ‘होम ग्राउण्ड’ बनाएपछि उसले खेल्ने तीन खेल यहाँ सञ्चालन हुनेछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानी काठमाडौँमा जारी ‘कतार एवरवेज शहीद स्मारक ए डिभिजन लिग’ को चौथो चरणका खेल समाप्तिपछि मनाङका तीन खेल यहाँ आयोजना हुन लागेको जनाएको छ ।

लिग डाइरेक्टर सञ्जीव मिश्रका अनुसार पाँचौ चरणमा आगामी पुस ३ गते मनाङ मर्स्याङदीले नेपाल पुलिस क्लबसँग पोखरा रङ्गशालामा खेल्नेछ । 

यसैगरी मनाङले पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग खेल्ने तालिका छ । पहिलो खेलका लागि दुबै टोलीका खेलाडी, एन्फा पदाधिकारी तथा लिग डाइरेक्टर र अफिसियलको टोली पोखरा आइपुगेको छ ।

काठमाडौँ केन्द्रित लिग यस वर्षदेखि राजधानी बाहिर आएको लिग डाइरेक्टर मिश्रले बताए । एन्फाले आगामी दिनमा राष्ट्रिय लिगलाई देशका प्रमुख रङ्गशालामा लैजाने योजना बनाएको बताइन्छ ।

उनले भने, “यसवर्षको लिग सुरु गर्नुअघि हामीले दशरथ रङ्गशाला, च्यासल,एन्फा कम्प्लेक्स र पोखरा रङ्गशालामा खेलाउँछौ भनेका थियौँ । एन्फाको चाहना र मनाङको अग्रसरतामा लिग पोखरा आएको छ । लिगलाई राष्ट्रिय स्वरुप दिएर मेचीदेखी महाकालीसम्मका स्टेडियमा खेलाउने र सबैले अपनत्व लिन सकोस् भन्ने चाहना राखेका छौँ । ”

‘ए डिभिजन लिग’ लाई एन्फाले राउण्ड रोविनको योजना बनाएपनि कोभिड-१९ का कारण सम्भव नभएको बताइन्छ । लिगमा सहभागी १४ क्लबले एकआपसमा खेल्नेछन् । हालसम्म २८ खेल दशरथ रङ्गशालामा सम्पन्न भएका छन् ।

पोखरा फुटबल रङ्गशालालाई मनाङ मर्स्याङदी क्लबले आफ्नो होम ग्राउण्ड बनाउन राष्ट्रिय खेलकुद परिषद र एन्फासँग सहमति लिएको छ । मनाङले खेल्ने तीन वटै खेलका सबै खर्च उसैले बेर्होने छ । सोही अनुसार मनाङले क्लबहरुसँग सहमति गरेर पोखरामा खेल्न विपक्षी टोलीलाई निम्ता गरेको लिग डाइरेक्टर मिश्रले बताए ।

उनले भने, “एन्फाले कुनै क्लबलाई पोखरामा खेल्नुहोस् भनेर आग्रह गर्दैन । क्लबहरुकाबीच एकापसमा सहमति भएर पोखरामा खेल्न तयार छौँ भनेर सहमति बुझाएपछि एन्फाले आफ्नो खेल तालिकामा राखेको हो ।”

एन्फाले सुरुआतमा तीन खेलको तालिका पोखरामा राखेपनि आगामी दिनमा अन्य खेल पनि यही हुन सक्ने जनाएको छ । लिगको दसौँ चरणपछि क्लबहरुको नम्बर बराबर हुने अवस्थामा एउटै समयमा विभिन्न रङ्गशालामा खेलाउनुपर्ने अवस्थामा पोखरालाई पनि प्रयोग गर्न सकिने बताइन्छ ।

मनाङ मस्र्याङदी क्लब उपाध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य विजय घलेले लिगका खेल काठमाडौँ बाहिर पनि लैजाने एन्फाको योजनामा आफूहरुले साथ दिएको बताए ।

यसलाई पोखराबाट सुरु गर्नुपर्दछ भनेर क्लबले अग्रसरता लिएको बताए । पोखरामा मनाङका समर्थक बढी रहेको र खेल गतिविधिका कारण पोखरा खेलकुद सहर बन्दै गएकाले समेत मनाङको प्राथमिकता पोखरा रहेको उनले बताए ।

उनले भने, “पोखरामा मनाङका ‘फ्यान’ पनि बढी छन्, यसका साथै नेपालको एउटा स्पोर्टस् क्यापिटल पनि पोखरा हो । दर्शकको चाहना पनि यहाँ खेल होस् भन्ने रहेकाले हामीले छनोट गर्यों ।” 

घलेले पोखरामा हुने खेलमा दर्शकको राम्रो साथ पाउने विश्वास लिइएको जनाए ।

एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिँहले पोखरामा सञ्चालन हुने खेल व्यवस्थित रुपमा सम्पन्न हुने बताए ।

उनले फुटबललाई माया गर्ने समर्थकहरुका लागि सुवर्ण अवसर रहेको भन्दै खेल पर्यटन प्रवर्द्धनमा खेलले सघाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ