arrow

ओमिक्रोन श्वासनलीमा ७० गुणा शक्तिशाली, फोक्सोमा १० गुणा कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
lung-omicron.png

काठमाडौं । हङकङ विश्वविद्यालयले गरेको एक अध्ययनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले श्वासनलीमा चाँडाे र फोक्सोमा ढिला आफ्नो संख्या दोब्बर पार्ने गरेको देखाएको छ ।

विश्वविद्यालयका डा माइकल चान ची वाईको नेतृत्वमा भएकाे अध्ययनले फोक्सोभित्र हावा पुर्याउने मुख्य दुई नली(ब्रोन्ची)मा ओमिक्रोनले ७० गुणा चाँडो संख्या दाेब्बर पारेकाे देखाएकाे हाे ।

अध्ययन अनुसार, ती दुई श्वासनलीमा ओमिक्रोनले डेल्टा भेरियन्ट भन्दा ७० गुणा चाँडो आफ्नो संख्या दोब्बर पार्ने गरेकाे छ । तर, फोक्सो भित्रका तन्तुमा भने डेल्टा भन्दा १० गुणा सुस्त गतीमा आफ्नो संख्या दोब्बर पार्ने गरेकाे छ।

श्वासनलीमा ७० गुणा चाँडो संख्या दोब्बर पार्दा ओमिक्रोन भेरियन्ट एक मान्छेबाट अर्काे मान्छेमा डेल्टा भन्दा झनैं चाँडो सर्न देखिएको डा वाइले बताएका छन् ।

यस्तै, फोक्सोमा १० गुणा सुस्त गतीमा संख्या दोब्बर पारेका कारण कम गम्भीर बिरामी पारेको हुनसक्ने उक्त अध्ययनले देखाएको छ ।

तर, संख्या दोब्बर पार्ने भन्दा पनि मान्छेको प्रतिरक्षा प्रणाली कस्तो किसिमको र कति प्रभावकारी छ भन्ने कुराले बढी प्रभाव पार्ने डा. ची वाईको भनाइ छ ।

ओमिक्रोन बढी संक्रामक हुँदा धेरै मान्छे संक्रमित हुने र यसरी धेरैको मृत्यु हुने देखिएको डा. ची वाईले बताएका छन् ।

कुनै व्यक्तिमा कमजोर प्रतिरक्षा प्रणालीका कारण त कुनै व्यक्तिमा प्रतिरक्षा प्रणालीले बढी साइटोकाइन (शरिरमा संक्रमणविरुद्ध उत्पन्न हुने एक किसिमको प्रोटिन) रिलिज गरेपछि बहुप्रणाली अंग विफलता (विभिन्न अंगले काम गर्न छोड्ने) भएर मृत्यु हुन्छ ।

यस्तै ओमिक्रोनले एक पटक संक्रमित भएकालाई पुन संक्रमण गर्ने र पूर्ण खोप लगाएकालाई समेत सहजै संक्रमित पार्ने देखिएको छ । यसै कारणले पनि ओमिक्रोन झनै खतरा हुनसक्ने चिन्ता विज्ञहरुको छ ।



नयाँ