arrow

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

logo
टेकराज पोखरेल,
प्रकाशित २०७८ पुष ४ आइतबार
corona-omicron-nepal.jpg

नवलपुर । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड-१९ को 'ओमिक्रोन भेरियन्ट' भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । 

भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताए । 

'हामीले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेका छौँ', उनले भने, 'सीमा हुँदै नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न लगाएका छौँ ।' त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रुबाहेक अन्य मालसामान भने आयात निर्यातको काम नभएको उनको भनाइ छ । 

'त्रिवेणी भन्सार हुँदै यात्रु मात्रै आवतजावत गर्दै छन्, मालवाहक सवारीसाधन यो नाकाबाट भित्रिएका छैनन्', प्रजिअ पङ्गेनीले भने, '२२ डिसेम्बरबाट पटनाले भन्सार खोल्ने भन्ने सुनेका छौँ, त्यसपछि यो नाकामा अझै कडाइ गर्नेछौँ ।' 

त्रिवेणी भन्सारबाट बिहान भारततिर जाने र बेलुका घर फर्किने तथा वाल्मीकि आश्रम जाने मानिस मात्रै आवतजावत गरेको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न लगाइएको बताए । कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको अवस्थामा पछिल्लो समय स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको उनको भनाइ छ । 

जिल्लामा स्वास्थ्य सचेतना वृद्धि गर्दै खोपको सहजताका लागि सङ्घीय सरकारसँग पहल भइरहेको उनले बताए । बालबालिकाका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको भन्दै प्रजिअ पङ्गेनीले ज्येष्ठ नागरिकलाई भेरोसिलको बुस्टर डोज लगाउनेबारे तयारी भइरहेको जानकारी दिए । कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने भन्दै उनले जिल्लामा हुने कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू भए नभएको अनुगमन गरिरहेको बताए । 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले आजदेखि जिल्लाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको जानकारी दिए । यही पुस १४ गतेसम्म जिल्लाका ४५ हजार विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाएर सकिने उनको भनाइ छ । उनकाअनुसार माघको २ गतेबाट मोडर्नाको दोस्रो मात्रा विद्यार्थीलाई दिइनेछ । 

जिल्लामा हालसम्म १८ वर्षमाथिका ८५ प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका कार्यालय प्रमुख चापागाईँले जानकारी दिए । उनकाअनुसार हालसम्म खोपको पूरा मात्रा लगाउनेको सङ्ख्या एक लाख १० हजार तथा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक लाख ८५ हजार रहेको छ । खोपको पहिलो मात्रा लगाएका १८ वर्षमाथिका नागरिकलाई माघको पहिलो हप्ताभित्र दोस्रो डोजसमेत लगाइ सक्ने गरी तयारी भइरहेको उनको भनाइ छ । 

जिल्लामा कोरोना रोकथाम र उपचारका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको प्रमुख चापागाईँले जानकारी दिए । जिल्ला अस्पताल र स्थानीय तहका नगर अस्पतालमा गरी करिब २०० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको उनको भनाइ छ । हरेक स्थानीय तहमा चिकित्सक स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको भन्दै यस पटक जिल्लामा अक्सिजनको कमी नहुने चापागाईँले बताए ।

 'पहिलो लहरमा जस्तो यस पटक अक्सिजनको कमी हुँदैन', प्रमुख चापागाईँले भने, 'हामीसँग पर्याप्त अक्सिजन, कन्सन्ट्रेटर लगायत सामग्री छन् ।' कोरोना फैलिन नदिनका लागि सचेतनासँगै स्थानीय तहका स्वास्थ्य संस्थालाई उच्च सतर्कता गराइएको प्रमुख चापागाईँले बताए । 



नयाँ