arrow

सहकारीले लोकतन्त्र प्रवर्द्धनमा पनि सहयोग पुर्‍याएको छ: सांसद भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
Bidhya Bhattrai.jpg

पोखरा । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सहकारीहरुले आर्थिक कारोबार मात्र नगरि सामाजिक सचेतनाको आन्दोलन पनि गरेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नं. १७ स्थित गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोश्रो वार्षिक साधारणसभामा सांसद अधिकारीले सहकारीले आर्थिक परिचालन गरी विपन्नलाई जीविकोपार्जनमा महत्वपूर्ण सहयोग पुर्याएको दाबी गरिन् । 

‘सहकारीले शेयर सदस्यबीच ऐक्यबद्धता र समझदारी गरी लोकतन्त्र प्रवर्द्धनमा पनि सहयोग पुर्याएको छ’, उनले भनिन्, ‘सहकारीले आर्थिक सशक्तिकरण र पुँजी निर्माणमा सहयोग गरेको छ ।’

उनले संघीयतामा सहकारी सञ्चालन तथा व्यवस्थापनामा अझै पनि केही अस्पष्टता रहेको बताइन् ।

पोखरा महानगरपालिका सहकारी समितिका संयोजक तेजनाराण अधिकारीले बचत तथा ऋण सहकारी भएता पनि उत्पादनमा जोडिन पर्ने सुझाव दिए ।

उनले ७० प्रतिशत बचत तथा ऋण कारोबार गरेता पनि ३० प्रतिशत उत्पादनमा लगानी गर्न आग्रह गरे ।

अधिकारीले उपभोक्ता समितिको रुपमा विकास निर्माणमा जोडिएर बाटो, पार्क, पुल भवन निर्माणको काम गर्न सुझाव दिए ।

एक सहकारी एक उत्पादनको नीति ल्याएको भन्दै उनले महानगरमा दर्ता भएका सहकारीले उत्पादनमूलक कार्यक्रम गरेको खण्डमा अनुदान दिने बताए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष दिपेन्द्रराज ढकाल, सचिव दिपेन्द्र शर्मा, शिक्षा समितिका संयोजक प्रकाश अधिकारी, शेयर सदस्य कृष्ण पौडेल, गोल्डन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष गुणाखर सापकोटा, सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाका सचिव केदारनाथ अधिकारी, हिमाालयन बोर्डिङ स्कूलका प्रिन्सिपल डा टेकनारायण पौडेल लगायतले बोलेका थिए।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता रामप्रसाद पौडेल र असल ऋणि मोदनाथ  वाग्लेलाई सम्मान गरिएको सचिव शर्माले जानकारी दिए । 

सहकारीले कूल पुँजी पाँच करोड पुर्याउने

सहकारीको शेयर पुंँजी तीन करोड ७८ लाख एक हजार रहेको छ । सहकारीले आगामी आर्थिक वर्षसम्ममा शेयर पुँजी बढाएर पाँच करोड पुर्याउने लक्ष्य लिएको अध्यक्ष ध्रुवराज पनेरुले जानकारी दिए । 

साधारण सभामा अध्यक्ष पनेरुले सहकारीको अहिलेसम्मको कुल निक्षप एक करोड ४२ लाख ६२ हजार ९९३ पुगेको जानकारी दिए । 

सहकारीले यस आर्थिक वर्षको अन्त्यसम्ममा तीन करोड ६० लाख निक्षेप संकलन गर्ने लक्ष्य लिएको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा चार करोड ८१ लाख, ९१ हजार ३६१ कर्जा प्रवाह गरेको सहकारीले आगामी आर्थिक वर्षसम्ममा आठ करोड कर्जा प्रवाह गर्ने योजना अघि सारेको छ ।

सभाले अध्यक्ष पनेरुले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद भुवाईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीपेक्षण समितिका संयोजक शोभितबहादुर क्षेत्रीले पेश गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ