arrow

बाँके जिल्लाकै नमुना पोषण कर्नर बन्यो नेपालगन्ज स्वास्थ्यचौकी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
banke-posan.jpg

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्रका दुई वटा वडाका स्वास्थ्य चौकीहरूमा नमुना पोषण कर्नर स्थापना भएको छ । नेपालगञ्जको वडा नम्बर १२ स्थित नेपालगन्ज स्वास्थ्य चौकी र वडा नम्बर १६ स्थित जयसपुर स्वास्थ्य चौकीमा आइतबार नमुना पोषण कर्नर स्थापना गरिएको हो ।

पाँच वर्ष मुनीका बालबालिकाहरू, गर्भवती तथा सुत्केरी आमाहरूका लागि पोषण सम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले पोषण कर्नरको स्थापना गरिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिएका छन् । अहिलेसम्म जिल्लाकै नमुना पोषण कर्नर नेपालगन्ज वडा नम्बर १२ को भए पनि नेपालगञ्जका अन्य वडामा पनि बजेट अनुसार क्रमशः पोषण कर्नर स्थापना गरिने बस्नेतले बताए।

विशेष गरी दुई वर्ष मुनीका बालबालिका, गर्भवती र सुत्केरी आमाहरूको पोषण स्थिति सुधार गर्नका लागि सचेतना जगाउने उद्देश्यका साथ बृहत् पोषण कार्यक्रम अन्तर्गत पोषण कर्नरमा चार प्रकारका विभिन्न थरीका खानाहरूको प्रदर्शन राखिएको अर्का अधिकृत गोरखनाथ योगीले बताए ।

दुई वर्षसम्मका बालबालिकाहरूलाई कुपोषणबाट जोगाउन पोषण कर्नरले विभिन्न पोषणयुक्त खानेकुरा खानका लागि प्रेरित गर्ने नेपालगन्ज स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक आरती चौधरीले बताइन् ।

'पोषण कर्नरबारे थप प्रस्ट पार्दै नेपालगन्ज स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक आरती चौधरी भन्छिन्' -न्यून पोषणको रोकथाम गर्न तथा यसका परिणामहरूबाट जोगिनका लागि गर्भावस्थाको सुरुवातदेखि शिशु जन्मिएको दुई बर्ससम्मको (सुनौलो हजार दिन) आमाहरूलाई पोषणको अत्यन्त जरुरी हुने गर्दछ । ६ महिना भन्दा कम उमेरका शिशुहरूलाई स्तनपान, ६ महिना भन्दा बढी उमेरका बालबालिकालाई अतिरिक्त खाना उपलब्ध गराउने, अन्य समस्याहरूको समाधानका लागि महिला तथा बालबालिकालाई सूक्ष्म पोषण उपलब्ध गराउने जस्ता विधिहरूद्वारा कुपोषण हटाउन पोषण कर्नरको स्थापना भएको हो ।

 पोषण कर्नरमा विभिन्न प्रकारका खानाहरू राखिएको हुन्छ । एउटा स्वस्थ मानिस हुनलाई सन्तुलित खाना अति नै आवश्यक हुन्छ । हामीहरूले खाना खाँदा हरेक बार खाना चार गराएर खानुपर्छ जसमा गेडागुडी, फलफूल तथा सागपात, अन्न, पशुपक्षीजन्य खाना पर्छ । हरेक पटकको खानामा यी चार प्रकारका खाना मिलाएर खाए कुपोषण हुनबाट मुक्ति मिल्छ । 

यी खानाहरूमा कार्बोहाइड्रेट हुन्छ जसले शक्ति प्रदान गर्छ, प्रोटिनले शरीरको वृद्धि विकास गर्छ, भिटामिनले शरीरको रक्षा गर्छ र मिनरल्सले स्वस्थ रहन मद्दत गर्दछ । पोषण कर्नरले सेवाग्राहीहरूलाई यी कुराहरूमा उत्प्रेरित गर्दै कुपोषण हुनबाट जोगाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ