arrow

हृदयेश त्रिपाठीको पार्टीमा कोही गएनन्...

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
hridayesh-tripathinews.jpeg
फाइल तस्बिर

काठमाडौँ। पूर्व मन्त्री तथा प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले गत मङ्सिर २८गते एभरेस्ट होटेलको एउटा कोठामा एक कार्यक्रम गरी जनता प्रगतिशील पार्टीको घोषणा गरे। केपी ओली नेतृत्व सरकारमा मन्त्री हुनु अघि त्रिपाठीले आफू निकट केही व्यक्तिहरूलाई बोलाएर स्वतन्त्र विचार समूह गठन गरेका थिए।

त्यस बेला उनीसँग विज्रेश गुप्ता, पशुपति दयाल मिश्र, ईश्वर दयाल मिश्र, अजय शाही लगायतका नेताहरू थिए। विचार समूह घोषणा कार्यक्रममा उनीहरू उपस्थिति भएका थिए।

स्वतन्त्र विचार गठन गरे पछि त्रिपाठी ओली सरकारमा दुई पटक मन्त्री भए। सुरुमा सङ्घीय मामिला मन्त्री भए भने दोस्रो पटक स्वास्थमन्त्री भए। तर पार्टी घोषणा कार्यक्रममा त्रिपाठी निकट भनिएका गुप्ता, शाही, मिश्र लगायतका नेताहरू उपस्थिति भएनन्। खाली ईश्वर दयाल मिश्र मात्र उपस्थिति भए। प्रदेश २ सरकारमा मन्त्री समेत रहेका अजय शाहीले त्रिपाठीले गठन गरेको पार्टीमा आफू सम्बद्ध नभएको बताए।

पार्टी घोषणा कार्यक्रममा पार्टीको संयोजक मात्र घोषणा गरियो।  कार्यसमितिका रहेका व्यक्तिको नाम पछि सार्वजनिक गरिने त्रिपाठीले बताए। कार्यसमितिमा को को छन् भनी सञ्चारकर्मीहरूले जिज्ञासा राख्दा उनले स्पष्ट जवाफ दिएनन्।

पार्टी घोषणा कार्यक्रमको उद्घोषण समेत त्रिपाठीले आफै गरे। पार्टीको उद्घाटन पूर्व सभामुख दमननाथ ढुगाँनाले गरे। कार्यक्रममा पूर्व प्रशासक रामेश्वर खनाल, तथा राजनीतिक विश्लेषक तुलानारायण साहलाई बोलाइएको थियो। नयाँ पार्टीलाई शुभकामना दिँदै उनीहरूले आफू यस पार्टीमा सम्बद्ध नभएको, खाली शुभकामना दिन मात्र आएको बताए।

त्रिपाठीले गत प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर लडेका थिए। त्यस कारण कानुनी रूपमा त्रिपाठी अहिले पनि एमालेमै छन्। तर उनले नयाँ पार्टी खोली एमालेसँगको सहकार्य तोडेका छन्।

स्रोतका अनुसार त्रिपाठीले अहिलेसम्म सम्पर्क कार्यालय समेत खोलेका छैनन्। स्रोत भन्छन्, त्रिपाठीले विश्वास गरेका नेताहरूले समेत अहिले त्रिपाठीको पार्टीमा जान चाहेका छैनन्। २०७४ को प्रतिनिधि सभाको चुनावको सङ्घारमा उनले तत्कालीन राष्ट्रिय जनता पार्टी त्यागेको घोषणा गरेका  थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ