arrow

कांग्रेस प्रदेश २ अधिवेशन 

१ हजार ३० मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
janakpur-matadan.PNG

धनुषा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । दिउँसो ३ : ५५ बजेसम्ममा १ हजार ३० जनाले मतदान गरेका छन् । 

योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ ।  बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान ९: ४० बजेदेखि मतदान सुरु भएको थियो । आज दिउँसो ६:३० बजेसम्मका लागि मतदानको समय तोके पनि मतदाताको लामो लाइन भएको हुँदा मतदान कार्यक्रम अबेर साँझसम्म चल्ने बताइएको छ । 

जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान कार्यक्रम भइरहेको छ । अहिलेसम्म व्यवस्थित रुपमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि दुई-दुई जिल्ला गरेर चार वटा बुथको व्यवस्था गरिएको छ । धनुषा-महोत्तरी, सिराहा- सप्तरी, सर्लाही- रौतहट र बारा- पर्साका गरेर चार वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् । 

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला-निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला-निधि पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । 

कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । 

प्रदेश नं २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ । यसैबीच कांग्रेसका नेता एवम् पूर्वउपसभापति बिमलेन्द्र निधिले गोपाल धर्मशालामा पुगेर मतदान गरेका छन् ।



नयाँ