arrow

बेगनास पार्कका लागि १० करोडको परियोजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
Begnastal park.jpg

लेखनाथ । गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बेगनासतालको बराह क्षेत्रको विकासका लागि साझा अवधारणा बनाउन सरोकारवाला लाई आग्रह गरेका छन् । 

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रममा मन्त्री शर्माले बराह क्षेत्रको बृहत्तर विकास सहितको गुरुयोजना कार्यान्वयनमा आफुले सहयोग गर्ने उल्लेख गर्दै त्यसका लागि लेखनाथवासीको साझा सरोकार वन्नुपर्नेमा जोड दिए । 

ड्रिम डेभलपर्स प्रालि काठमाण्डौंले तयार पारेको बेगनासताल पार्कको बृहत प्रस्ताव परियोजनाको प्रस्तुतिपछि मन्त्री शर्माले १० करोडको परियोजनाका लागि आगामी बजेटमा प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिवद्धता जनाए । 

संघीय सरकारसँग पनि आफुले लबिङ गर्ने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि लेखनाथबासीले साझा योजना हो भन्ने विश्वास दिलाउनुपर्ने स्पष्ट पारे । 

मन्त्री शर्माले पोखरा र शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा पूणिटारमा औद्योगिक क्षेत्रका लागि आवश्यक तयारी भैरहेको बताए । 

उनले जग्गा व्यवस्थापनका लागि तनहुँ र कास्कीको नापी कार्यालयलाई निर्देशन दिईसकिएको उल्लेख गरे । 

मन्त्री शर्माले पोखरामा तीन चार दिन सजिलै पर्यटक रोकिन सक्ने वातावरण तयार भएको उल्लेख गर्दै लेखनाथ क्षेत्रमा थप एक दुई दिन बस्न सक्ने गरी पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए । 

पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बेगनासतालदेखि कालिकाको देउमणिसम्म सौर्य ट्रयाकको विकास गरी पर्यटकलाई आकर्षण गर्न सकिनेमा जोड दिए । 

उनले लेखनाथ क्षेत्रमा प्रकृतिको अनुपम संगम रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गर्न नसकिएका कारण पछाडि परेको बताए । 

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले लेखनाथमा देखिने गरि पर्यटन विकासका गतिविधि हुन नसकेको उल्लेख गर्दै सम्भावना र अवसर भए पनि सरकारका दृष्टिमा नपरेको गुनासो गरे । 

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतमा भएको कार्यक्रममा बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारी लगायतले बृहत बेगनासको परियोजनाका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ