arrow

पोखरालाई शान्त र सुन्दर राखिरहन सरकार प्रतिवद्ध : गृहमन्त्री खाँड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
Bal Krishna Khand Pokhara.jpg

पोखरा । पोखरास्थित फेवाताल किनारमा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल(रेवान) पोखराको आयोजनामा आजदेखि पर्यटकीय सहर लेकसाइडमा २३ औँ संस्करणको महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन अघि विभिन्न २५ वटा साँस्कृतिक समुहको झाँकीको रौनकले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रमा सकारात्मक सञ्चार गराएको थियो । 

देशका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी उद्घाटन सत्रमा प्रस्तुत नृत्यले महोत्सवको रौनक बढाएको थियो । र्याली तीन किमी पैदल महोत्सवस्थल कोमागाने पार्कसम्म निकालिएको थियो ।

अङ्ग्रेजी नयाँवर्षका अवसरमा ‘सडकमै खाऔँ, सडक मै नाचौ र सडक मै रमाऔँ’ को नारासहित रेवानले सडक महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र यहाँका फेवा लगायतका तालहरुको संरक्षणमा सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, “पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्दछ । प्रदेश सरकारले समन्वय गर्ने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु । सङ्घीय सरकार पोखरालाई सदैव शान्त सुन्दर राखिरहन प्रतिवद्ध छ ।”

फेवातालको संरक्षणका लागि आएका प्रतिवेदनहरु अध्ययन गरेर कार्यान्वयन गरिने गृहमन्त्री खाँडले प्रतिवद्धता जनाए ।

उनले भने, “प्रतिवेदन कार्यान्वयनको क्रममा पोखरावासी दाजुभाई दिदीवहिनीहरुले साथ दिनुहोला । कार्यान्वयन गर भन्ने तर कार्यान्वयन गर्ने बेलामा भने यस्तो रिपोर्ट आएछ, थाहा भएन भन्ने नहोस्,मेरो विन्ती छ ।”

देशका विभिन्न भूभागहरुमा रहेका पर्यटकीय क्षेत्रलाई २४ सै रेष्टुरेण्ट खुलोस् भन्ने चाहना सरकारको रहेको बताउँदै उनले त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

गृहमन्त्री खाँडले निरन्तर सेवा दिन सकिने ठाउँहरु तय भएको खण्डमा परीक्षणका रुपमा सुरु गर्न सकिने उल्लेख गरे । होटल रेष्टुरेण्टहरुमा गएर प्रहरी प्रशासनले सहयोगी भूमिका निर्वाह गर्न गृहमन्त्री खाँडले निर्देशन दिए ।

“२४ सै घण्टा होटल रेष्टुरेण्ट खुला राख्न स्थानीय जनप्रतिनिधि र स्थानीय दाजुभाई दिदीबहिनीहरुलाई तपाईले मनाउनुहोस्, खोल्न हामी तयार छौँ ।”

मन्त्री खाँडले भने, “ होटल रेष्टुरेण्टहरुमा गएर पुलिस प्रशासनले सहयोगी भूमिका निर्वाह गर्नुहोला, होटल रेष्टुरेष्ट बन्द गर्न तपाईहरु जाने होइन,सुरक्षा आवश्यक परेमा मात्र जाने हो ।”

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पर्यटन विकासका कार्यक्रममा सरकार नीजि क्षेत्रसँग मिलेर काम गर्न तत्पर रहेको बताए ।

कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सराङकोटबाट सञ्चालन हुँदै प्याराग्लाइडिङ विस्थापित हुन सक्ने आशंका रहेको बताउँदै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ बचाउनुपर्ने बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले नेपालको पर्यटनको राजधानी पोखरा हो भनेर घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गरे ।

उद्घाटन समारोहमा रेवानका केन्द्रीय प्रथम उपाध्यक्ष संघर्ष विष्ट, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिँह लामा, रेवानका अध्यक्ष लक्ष्मण बराल लगायतले पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ