arrow

संस्कृति बचाउन पोखरामा नेवारी परिकार उत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
Newari parikar.jpg

पोखरा । तेर्सापट्टी बुहारी समूहको आयोजनामा नेवारी परिकार उत्सव सकिएको छ । समूहले नेवारी खानाको संस्कृति बचाउन नेवारी परिकार उत्सव गरेको हो । 

उत्सवमा कार्यक्रम स्थलमै परिकार बनाउने तालिम पनि प्रदान गरेको थियो । कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्दै लैजानुपर्ने बताए ।

उनले नेवाः खल कास्कीले नेवारी संस्कृति जगेर्नाका लागि जागरण अभियान चलाएको स्मरण गर्दै कास्कीका विभिन्न भेगमा अहिले नेवारी परम्परालाई जीवन्त राख्न कचाः खल, मिसा पुच, ल्याम्ह पुच सक्रिय रहेको बताए ।

समूहका अध्यक्ष नीलम उदासले नेवारी परिकारहरु घरका  चुलोमा पाक्न छाड्दा विभिन्न नेवारी चाडमा पाक्ने नेवारी परिकारको संस्कृति नै लोपोन्मुख हुने अवस्थामा समूहभित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको बताइन् ।

कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्ल, वडा सदस्य रविन कायस्थ, नेवाः मिसा पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ लगायतले बोलेका थिए ।

उत्सवमा प्रशिक्षार्थीहरुले पकाएका परिकारहरु स्टलमा राखिएको थियो । 

उत्सव स्थलमा पुगेका दर्शकहरुले कार्यक्रम स्थलमै पकाएका खानेकुरा प्रत्यक्ष हेरेर मीठो मानी खाएको संयोजक शान्ति उदासले बताइन् ।

समूहले आफ्नो ३० भन्दा बढी महिला सदस्यलाई नेवारी परिकारहरु निःशुल्क रुपमा पकाउन तालिम दिएकोे समूहकी अध्यक्ष उदासले जानकारी दिए । 

जोःजलपा नेवारी किचनका सेफले प्रदान गरेको तालिममा नेवारी परिकार योमरी, छोयला, समयबजी, चटामरी, बारा, तखला, सन्यखुन्य लगायत पकाउन सिकाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ