arrow

श्रीपति समाजसेवा पुरस्कार आविष्कार केन्द्रलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
Shreepati Gurhi, mahabir pun.jpg

पोखरा । पोखरामा स्थापित श्रीपति समाजसेवा पुरस्कार प्रविधि र विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । 

पुरस्कार स्थापना गर्ने संस्था श्रीपति कोईराला गुठीको २९ औं साधारणसभाका अवसरमा राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंका प्रमुख महावीर पुनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङले पुरस्कार हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले श्रीपति कोइराला गुठीले धर्म, संस्कार र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

उनले ब्रामहण जातिद्वारा सञ्चालित संस्थाले मगर जातिद्वारा सञ्चालित संस्थालाई सहयोग गर्नु र गुरुङको हातबाट प्रदान गर्नु आफैमा प्रशंसनीय कार्य भएको भन्दै यसले राष्ट्रियता बलियो हुने विश्वास व्यक्त गरे ।

उपकुलपति गुरुङले व्यक्ति मर्यादित भए समुदाय मर्यादित हुने र समुदाय मर्यादित भए राष्ट्र मर्यादित हुने भन्दै राष्ट्र मर्यादित बनाउन सबैले आआफ्नो धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए ।  

सम्मानित संस्था राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले देशको अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए । अर्थतन्त्र नसुध्रिएसम्म मुलुक अघि बढ्न नसक्ने भन्दै उनले अर्थतन्त्रकै कारणले मुलुकको अस्तित्व गुम्न सक्नेप्रति सचेत गराए । 

सबै नेपालीले सृजनशीलतामा जोड दिनुपर्ने भन्दै उनले अर्थतन्त्र सुधार गर्नका लागि प्रविधिको विकासमा ध्यान दिनुपर्ने र जुनसुकै काम गर्नका लागि शुरुमा अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

पुनले राष्ट्रिय आविष्कार केन्द्रको मूलभूत उद्वेश्य प्रतिभा खोजेर अनुसन्धानमार्फत सृजना गर्ने र सृजनालाई उत्पादनसंग जोडेर मुलुमा समृद्धि भित्र्याउने रहेको स्पष्ट पारे ।

सो अवसरमा विद्यार्थी र विभिन्न समाजसेवीहरूलाई श्रीपति शिक्षा पुरस्कार र श्रीपति विद्या पदकद्वारा विभूषित गरिएको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नारायणस्थान धार्मिक समितिका अध्यक्ष महेश्वर पराजुली, कोईराला सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोईराला, ब्रह्मकुमारी बहिनी मञ्जु, नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, कवि छन्दिका, संस्थाका पूर्वअध्यक्ष हेरम्व प्रसाद कोईराला, उपाध्यक्ष फडिन्द्रराज कोइराला, सचिव नवराज कोईराला, वडाध्यक्ष धनबहादुर नेपालीलगायतले समाजसेवाको क्षेत्रमा श्रीपति कोइराला र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले खेलेको भूमिकाबारे चर्चा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ