arrow

मर्दी हिमालमा समर स्की महोत्सव हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
skii.jpg

पोखरा । कास्कीको मर्दी हिमालमा समर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक संस्थाको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । 

संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको हो ।

नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अधिकारीले बताए । यो महोत्सवलाई ग्रेट हिमालयन स्की भ्रमण नाम दिईएको छ । महोत्सव सम्पन्न गर्न १६ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ । 

उक्त खर्च अन्तर्गत सबैभन्दा बढी बिमामा छुट्टाईएको छ । महोत्सवमा भाग लिनेहरुको बिमाका लागि दुई लाख २० हजार रुपैंया विनियोजन गरिएको अधिकारीले जानकारी दिए । संस्थाले मर्दिमा गर्न लागेको स्की महोत्सव आठौं चरणको हो । 

यसअघि मनास्लु, कालिञ्चोक लगायतका स्थानमा यो महोत्सव भईसकेको संस्थाका अध्यक्ष रामबहादुर थापाले बताए ।

अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिए । 

यो महोत्सवले मर्दि हिमाल पदयात्रालाई झनै प्रचार प्रसार गर्ने गौतमले विश्वास व्यक्त गरे । गौतम मर्दि हिमाल पदयात्राका मार्गका प्रवद्र्धक हुन् ।

महोत्सवमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय (संघ), गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाईन क्लव लगायतका सँस्था तथा मन्त्रालयले सहकार्य गरेका छन् ।

महोत्सव अन्तरगत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धि बृत्तचित्रहरु प्रदर्शन गरिने अधिकारीले जानकारी दिए ।

संस्थाले ६ पटकसम्म लाङटाङ क्षेत्रमा स्की सम्बन्धित तालिम गराईसकेको छ । 

यसैगरी धौलागिरी हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको व्यालेन्स हिमाल, गोसाईंकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङ लगायतका स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

महोत्सवमा सबै क्षेत्रका मानिसहरुले भाग लिन पाउने जनाईएको छ । तर आयोजकले भने पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको सहभागितामा जोड दिएको छ । 

महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सय मानिसहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवद्र्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्की सम्बन्धित सीप हस्तान्तरण हुने, नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले विश्वास व्यक्त गरे ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले मर्दी हिमालमा हुने स्की महोत्सवले कोरोनाकालमा थलिएको पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । 

उनले यो महोत्सवमा सहकार्य गर्न पाउनु नेपालको पर्वतारोहण पर्यटनमा नयाँ आयाम थपिने दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ