arrow

रेशम चौधरीको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
resham-chaudhary2.jpg

काठमाडौं । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ पार्टी गठन गरी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । डिल्लीबजार कारागारमा रहेका उनले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी गठन गरी दल दर्ताका लागि टोलीसहित आयोग पठाएका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नयाँ दल दर्ताका लागि टोली आएको जानकारी दिए ।  ‘दल दर्ताका लागि दिनहुँ २–३ टोली आउने गरेका छन् । आज पनि दल दर्ताको निवेदन छाड्नका लागि केही व्यक्तिहरु आएका थिए । तर कसको नेतृत्वमा आएको थियो भन्ने मलाई थाहा भएन’, उनले भने ।

यद्यपी, चौधरीकै सल्लाहमा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरि दल दर्ताका लागि समर्थकहरुको टोली निर्वाचन आयोग पुगेको थियो । समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित आयोगको कार्यालय गएका हुन् ।

कैलाली–१ बाट राजपाको तर्फबाट अत्याधिक मतका साथ विजयी भएका चौधरी टीकापुर नरशंहारको मुख्य आरोपी मानिएका छन् । चौधरी निकट स्रोतका अनुसार उनी मधेशवादी दल परित्याग गरी नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनी असन्तुष्ट रहँदै आएका थिए । दल दर्ताका लागि पहिले निवेदन दर्ता गर्नुपर्ने र प्रक्रिया पूरा भएपछि सनाखतका लागि बोलाइने प्रवक्ता पौडलले जानकारी दिए ।

‘नयाँ पार्टी दर्ताका पहिले निवेदन दर्ता हुन्छ । विधान र चुनाव चिन्ह अध्ययन गरेपछि केन्द्रीय समितिका व्यक्तिहरुलाई सनाखतका लागि बोलाउछौं,’ उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ