arrow

गण्डकीमा चार भलिबल खेलाडी सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
Player Samman.jpg

पोखरा । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बंगलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन महिला भलिबल विजेता खेलाडीलाई सम्मान गरेको छ । 

सम्मानित हुनेमा गण्डकीबाट प्रतिनिधित्व गर्ने टिम कप्तान अरुणा शाहीसहित चार जना खेलाडी रहेका छन् । उनीहरुलाई जनही ५० हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीहरुमा टिम क्याप्टेन म्याग्दीकी अरुणा शाही, तनहुँकी उषा भण्डारी, बागलुङकी सफिया पुन र नवलपुरकी शान्ति थारु रहेका छन् । कार्यक्रममा भलिबल टोली नेता यामबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेलाडीको वृत्ति विकासका लागि राज्यले धेरै काम गर्न बाँकी रहेको बताए । उनले खेल क्षेत्र र खेलाडीको महत्वबारे मुख्यमन्त्री र अर्थमन्त्रीले बुझ्न आवश्यक रहेको भन्दै युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै हुँदा आफूले सोचेअनुरुप काम गर्न नसकेको स्पष्ट पारे । 

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले टोलटोलमा खेलिने भलिबलले देशलाई नै खुशी दिएको भन्दै नेपालमा पनि क्षमतावान खेलाडी छन् भन्ने सन्देश दिएको स्पष्ट  पारे ।

टिम कप्तान अरुणा शाहीले विभिन्न समस्याका बाबजुद उपाधि जितेर देशको नाम राख्न सफल भएकामा निकै गौरव लागेको भन्दै अझै पनि केही गरेर देखाउन बाँकी रहेको बताइन् ।

उनले आफूहरुले राष्ट्रका लागि खेल्ने तर खेलपछिको जीवनका लागि सरकारले ध्यान दिन आवश्यक रहेको बताइन् ।

प्रदेश खेलकुद परिषदमा उपाध्यक्ष भोजकुमार गुरुङले खेलाडीहरुले देशको शिर उँचो बनाएको बताए । मन्त्रालयका निमित्त सचिव एवं खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा राजेन्द्र आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।



नयाँ