नारायणहिटी परिसरमा रेस्टुरेन्ट निर्माणको विषयले विवादमा योगेश भट्टराई, मन्त्री आलेले रोके निर्माण कार्य
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
490
Shares
काठमाडौं । ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा दिइएको विषयमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई मुछिएका छन् ।
आफू मुछिएको विषयका समाचारहरु आउन थालेपछि एमाले सचिब समेत रहेका भट्टराईले सामाजिक संजालमार्फत प्रष्टीकरण दिएका छन् । मंगलबार साँझ सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै उक्त प्रक्रियामा संलग्नता नरहेको बताएका छन् । उनले आफू मन्त्री हुनुअघि नै कफी हाउस निर्माण भइसकेको पनि जनाएका छन् ।
नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भट्टराईले त्यस सम्बन्धि कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
‘आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वतः स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु,’उनले लेखेका छन्,‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’
नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणाधीन रेस्टुरेन्टका लागि आवश्यक संरचना निर्माणसम्बन्धी नक्सापास तथा स्थलगत नापजाँचसमेत नगरी निर्माण कार्य भइरहेको समाचार बाहिर आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ ।
मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो । समितिले २० पुसमा बि.म्यानेजमेन्ट प्रालिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।
‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा।लि। बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि.म्यानेजमेन्ट प्रालिलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।
करिब ७५४ रोपनीमा फैलिएको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको बुझिएको छ ।