arrow

प्रभु बैङ्कले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने, यी हुन् साधारण सभाका निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
prabhu-agm-2078.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेडको २० औँ वार्षिक साधारण सभा विभिन्न निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ। बैङ्कको सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाको अध्यक्षतामा बबरमहलस्थित बैङ्कको प्रधान कार्यालयमा बसेको बैङ्कको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष ०७७–०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ।

साथै सो वार्षिक साधारण सभाले बैङ्कको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७७–०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिडको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको सीमाभित्र रही शेयरधनीहरूलाई वार्षिक साधारण सभा स्थलमा प्रत्यक्ष तथा अप्रत्यक्ष उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको थियो।

आज सम्पन्न बैङ्कको साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपले पारित गर्दै बैङ्कले गत आ.व. २०७७–७८ को मुनाफाबाट सोही आर्थिक वर्षमा कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ।

साधारण सभाले अन्य बैङ्क तथा वित्तीय संस्थाहरू गाभ्ने–गाभिने, प्राप्ति–एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैङ्कको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ।

सो वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैङ्कको चुक्ता पुँजी रु.१२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ। देशका विभिन्न स्थानमा शाखा रहित बैङ्किङ सेवा, ६१ वटा एक्सटेन्सन काउन्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरू सहित देशभर फैलिएको बैङ्किङ सञ्जालको माध्यमबाट १६ लाख भन्दा बढी ग्राहकहरूलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ