काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उनले बताए । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिए । अहिलेसम्म ११ हजार ६०१ जनाको संक्रमणका कारणले निधन भएको छ ।
उनका अनुसार ५०० भन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । यस्तै २०० भन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।
यस्तै शून्य संक्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । नेपालमा संक्रमण दर १७ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेसनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा मिश्राले आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिए ।
अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन् ।