- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य स्थल पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण गर्दा तीन करोड ७५ लाख रुपैयाँ ऋण लागेको छ ।
यो ऋण तिर्न र थप संरचना निर्माण गर्न माघ ८ देखि १८ गतेसम्म शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको छ ।
महायज्ञमा मुख्य वाचकको रूपमा भागवत भाष्कर कमलनयन गौतम रहने महायज्ञका दाताबाट प्राप्त दान रकमको स्तम्भ शिलालेख निर्माणसमेत गरिने अध्यक्ष बरालले बताए ।
पुम्दीकोटमा विशाल शिवमूर्ती लगायत संरचना निर्माण गर्दा २० करोड रुपैयाँ खर्च भएको र करिब १७ करोड रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको थियो ।
बाँकी नपुग रकम भुक्तानी गर्न समितिका सदस्यहरूका घर जग्गा बैङ्क तथा वित्तीय संस्थामा धितो राखिएको समितिले जनाएको छ ।
अब हुने महायज्ञबाट १० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सङ्कलित रकमले यसअघिका ऋण चुक्ता गरेर बाँकी रहेको रकमले विभिन्न संरचना थप्ने योजना रहेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
समितिका अनुसार पुम्दीकोठमा हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
सुमेरु पर्वत नामकरण गरी कुमार पार्वतीको मूर्ति स्थापना, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि विद्युतीय चियर कार निर्माण, ग्रिनरी पार्क निर्माण, पार्किङस्थल निर्माणका समितिले योजना अघि सारेको छ । पुम्दीकोटमा ५१ फिट अग्लो महादेवको विशाल मूर्ति स्थापना, ३१ फिट उचाइको विशाल डम्मरु निर्माण गरिएको छ ।
अध्यक्ष बरालका अनुसार महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी) तेस्रो आँखा १०८ धारा जडानसहित, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण, २१६ शिवलिंग स्थापना, १०८ स्वर्गद्वारी सिँढी निर्माण, सुविधा सम्पन्न शौचालयसहितको प्रशासकीय भवन निर्माण, ४१ वटा फूलमाला विक्री कक्ष रहने सटर, मूर्ति परिसरमा कम्पाउन्ड वाल निर्माण, २०० मिटर पहुँचको पक्की मार्ग निर्माण, मन रेलद्वारा गणेश परिक्रमा लगायतको भौतिक संरचना निर्माण गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले गण्डकी प्रदेशकै गौरवका रूपमा रहेको पुम्दीकोट विशाल महादेव मूर्तिसहितका सञ्चालन निर्माणका लागि सञ्चार जगतले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
पुम्दीकोटमा संरचना निर्माण भएर सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । एकै दिनमा ७ हजारसम्म पर्यटक पुम्दीकोट पुगेको र आगामी दिनमा त्यहाँ पुगेका पर्यटकलाई एक रात राख्न सकिने गरि योजना अघि बढाइएको समितिले जनाएको छ ।