- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
“ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ”, मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राद्वारा आज यहाँ जारी विज्ञप्ति भनिएको छ, “सीमानाकामा कोभिड-१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।”
शुक्रवार २४ जनामा ओमिक्रोन पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियन्ट संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस-जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले एस-जिन स्क्रिनिङ गर्न वीर, निजामती कर्मचारी, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण र भेरी अस्पताल र प्रदेश नं २ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको जनाएको छ । ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड-१९ को संक्रमण बढ्ने सम्भावना रहेको जनाउँदै मन्त्रालयले सबैलाई थप सजगता अपनाउन आग्रह गरेको छ ।