arrow

सडक अझै पूर्ण भएन, आठौंपटक बन्यो बेलिब्रिज

logo
केदार कटुवाल, 
प्रकाशित २०७८ पुष २४ शनिबार
belebrizz.png

उदयपुर । सुनकोशी नदीको फोक्सिङटारमा आठौं पटक बेलिब्रिज संचालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गको कदमहा, सदरमुकाम गाईघाटबाट खोटाङ सदरमुकाम दिक्तेलसम्म सडक संंजालमा जोड्न बर्सेनि बेलिब्रिज जडान गरिन्छ ।

करिब १० करोडको लागतमा गौरी–पार्वती निर्माण कम्पनीले तीन वर्षमा सम्पन्न गर्ने गरी २०७० सालमा पुल निर्माणको जिम्मा पाएको भए पनि आठ वर्ष बित्दासमेत सम्पन्न भएको छैन । यस अवधिमा तीन पटक म्याद थप भएको पुल सेक्टर आयोजना कार्यालय धरानका प्रमुख नितेश झाले जानकारी दिए ।

पुलको डिजाइन आर्क सिस्टमको हुनु, यस प्रकारका पुल देशभर कम भएकाले निर्माण ढिलाइ भएको झाले बताए । बर्सेनि हिउँदमा बेलिब्रिज निर्माण र वर्षादमा निकाल्दा पुल निर्माणमा लाग्ने आधा रकम करिब ५ करोड लगानी भइसकेको गाइघाट–दिक्तेल सडक आयोजना कार्यालयका सूचना अधिकारी रमेशनाथ पाण्डेले बताए ।

उदयपुरको रौतामाइ–५ फोक्सिङटार र खोटाङको खोटेहहाङ–९ स्थित सुनकोशी नदीमा ८ वर्ष यता गाइघाट–दिक्तेल सडक आयोजनाले बेलिब्रिज लगाउँदै आएको छ । यस वर्ष बेलिब्रिज जडानको जिम्मा रेग्मी निर्माण सेवा गाईघाटले ७६ लाखक‍ो लागतमा पाएको आयोजना कार्यालय गाइघाटले जानकारी दिएको छ।

२०५१–५२ सालदेखि खोटाङ सदरमुकाम दिक्तेललाई सीधा तराईसँग जोड्न करिब २७ वर्ष अघिदेखि निर्माण कार्य भइरहेको छ । उदयपुर खण्डमा ५३ किलोमिटरसहित १ सय ३१ किलोमिटरमा ट्रयाक खोलिसकेको छ ।

नदीमा पानीको बहाब घटेसँगै अस्थायी पुल जडान गर्ने वर्षामा भेलबाढी आएपछि झिक्ने कार्यले बर्सेनि निरन्तरता पाएको छ । एकातर्फ २५ टन भारबहन क्षमता रहेको बेलिब्रिज जडानसंगै ६ महिना यातायातका साधन संंचालन हुँदा तराइसंग सिधा सम्पर्क बढेको हो ।

पुल सेक्टर धरानका प्रमुख झाका अनुसार यस वर्ष पुलको ९० प्रतिशत निर्माण कार्य सम्पन्न गर्नेगरि आर्क डिजाइनमा काम गर्ने जनशक्तिको ब्यबस्थापन भएको बताए ।

२०७४ मा सम्पन्न हुनु पर्ने पक्की पुल ४ वर्ष बितिसक्दासमेत किन ढिलाइ हुन्छ ? निर्माण कम्पनीको लापरवाही कार्यालयको बेवास्ता भन्दै स्थानीय जनप्रतिनि, सरोकारवाला र वर्षौदेखि पुल र सडकको प्रतिक्षामा रहेका उदयपुर र खोटाङबासी आक्रोशित भएका छन् । 
 
                                                



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ