- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइतबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले विद्यालय बन्द गर्न र 'स्मार्ट लकडाउन' गर्नका लागि सिफारिस गर्ने विषयमा छलफल गरेको छ ।
खास गरी १८ वर्ष मुनिका बालबालिकाहरू धेरैले खोप नलगाएका कारण उनीहरूलाई लक्षित गर्दै संक्रमणको 'चेन ब्रेक' गर्नका लागि यस्तो सिफारिस गर्ने विषयमा छलफल भएको सीसीएमसीसीका एक अधिकारीले बताए ।
'धेरै जसो विद्यालयहरूले अहिले हिउँदे बिदा दिइरहेका छन्, त्यसैलाई केही समय लम्ब्याउने गरी सम्बन्धित स्थानीय तहलाई सिफारिस गर्ने विषयमा छलफल भएको छ,' ती अधिकारीले भने । उक्त समय सीमा १५ दिनको भनिएको छ ।
यस्तै सीसीएमसीसीले आ-आफ्नो जिल्लामा संक्रमणको अवस्था हेरेर यसअघि कै तरिकाले स्मार्ट लकडाउन गर्नका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई सिफारिस गर्ने विषयमा समेत छलफल गरेको छ ।
'संक्रमण रोक्न भिडभाडजन्य क्रियाकलाप सञ्चालनमा प्रतिबन्ध लगाउने र सम्भवतः निश्चित सङ्ख्या नै तोकेर त्यो भन्दा बढी भेला हुन नदिने भन्ने किसिमले सिफारिस गर्ने विषयमा समेत बैठकले छलफल गरेको छ,' ती अधिकारीले भने ।
आइतबार सीसीएमसीसीको बैठक बसेको तर, बैठकको निर्णय औपचारिक रूपमा आफूसँग आई नसकेको प्रवक्ता सुनिता नेपालले बताइन् ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर संक्रमण बढ्दै गएसँगै विभिन्न देशहरूले कडाइ सुरु गरेका छन् ।
नेपालमा समेत तीव्र रूपमा संक्रमण बढिसकेको छ । यसलाई नियन्त्रणका लागि अब, जिल्लाहरू फेरि पहिलाको तरिकाले स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।
पछिल्ला दिनहरूमा देशको आधा भन्दा बढी संक्रमित उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भेटिइरहेका छन् ।