arrow

‘नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेकोमा चिन्ता’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
rajbiraj-mcc.jpg

राजविराज । नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको सप्तरीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले बताएका छन्। जिल्लाको शम्भुनाथ नगरपालिकास्थित कठौतामा राष्ट्रिय हिन्दु पत्रकार सञ्जालले आयोजना गरेको ‘मधेशको नेतृत्व र विकासको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालको भूमिमा चीनले आफू अनुकूल काम गरिरहेको बताए। उनीहरूले तराई मधेशका व्यक्तिलाई पनि प्रलोभनमा पारी चीनले आफ्नो ऋण जालमा फसाई रहेको आरोप समेत लगाए । जसका कारण मधेशको विकास पनि पछि परिरहेको उनीहरूको धारणा थियो।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा स्थानीय बुद्धिजीवी सबुरलाल साहुले मधेशमा चिनियाँ कम्पनीहरूले चीनबाट कामदार ल्याई नेपाली कामदारको काम खोसेको तथा श्रम शोषण समेत गरिरहेको आरोप लगाए । उनले चीनमा आजीवन कारावासको सजाय पाएका व्यक्तिलाई नेपालमा ल्याएर काममा लगाई रहेको खुलाए।

नेपाली काँग्रेस प्रदेश १ को ख का क्षेत्रीय सभापति उमेश मिश्रले चीनले आफ्नो प्रभाव बढाउन मधेशवादी दलका केही नेताहरूसँग सम्पर्क बढाएको आरोप लगाए। उनले जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव जस्ता व्यक्तिहरू पनि चीनको इसारामा मधेशमा काम गरिरहेको बताए।

जनता समाजवादी पार्टीले मधेशमा द्वन्द्व बढाउन खोजेको बताउँदै मिश्रले भने, ‘जनता समाजवादी पार्टीका नेताहरूले विकास भन्दा पनि भ्रष्टाचार कसरी गर्ने भन्नेमा बढी ध्यान केन्द्रित गरेका छन् ।’ मधेशवादी नेताहरूकै कारण मधेशमा भ्रष्टाचार संस्थागत भएको उनले दाबी गरे।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य वीरेन्द्र साह ‘क्रान्ति’ ले चीनको विआरआई परियोजना गरिब राष्ट्रलाई भारी ऋण बोकाएर आफ्नो इसारामा नचाउने किसिमको योजना रहेको बताए।

चीनले आफ्नो अभीष्ट पूरा गर्नका लागि नेपालमा पनि विआरआई परियोजना लागू गराउन खोजेको आरोप लगाए। साहले नेपालमा विआरआई परियोजना लागू हुन नदिनेमा जोड् दिए।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साहले प्रदेश सरकारमा मधेशवादी दलका मुखियाहरूकै प्रतिनिधित्व भए पनि मधेशमा विकास नहुनु दुःखद भएको बताए। उनले आफूलाई मधेशका नेता भनेर चिनाउनेहरूको पछिल्लो क्रियाकलापले विकास भन्दा पनि विनासले प्राथमिकता पाएको बताए।

‘मधेशी दलले नेतृत्व गरेको सरकारले ४ वर्षमा पनि आफ्नो भवन बनाउन सकेको छैन। अहिले पनि राजाको समयमै निर्माण गरिएको जनकपुर चुरोट कारखानामै आफ्नो निवास र मन्त्रालय राखेको छ’ उनले भने, ‘आफ्नो घर समेत बनाउन नसक्ने मधेशका नेताहरूले जनताको घरदैलोमा विकास कसरी गर्छ ?’ 

प्रधानाध्यापक धर्मदेव साहले राजनीतिक रूपमा नेतृत्व गर्नेले विकासको पनि जिम्मा लिएर अगाडी बढ्नुपर्ने बताए। उनले नेतृत्वकर्ताले विकासको लागि योजना बनाएर लक्ष्य अनुसारका काम गर्न नसके नेतृत्वको कुनै अर्थ हुन नसक्ने उल्लेख गरे।

नेपाली काँग्रेसका युवा नेता अर्जुन साहले माओवादी र मधेशवादी नेताहरूले समाजलाई विभाजन गरेको आरोप लगाए। उनले आफू सत्तामा जानको लागि माओवादी र मधेशवादी दलका नेताहरू समाजका विभिन्न वर्गलाई विभाजन गरेर सामाजिक एकतालाई कमजोर पारेको कारण विकासले गति लिन नसकेको बताए।

अधिवक्ता हेमनारायण चौधरीले पार्टीको झन्डा बोकेर स्थानीय तहमा जनप्रतिनिधि गएको कारण मधेशमा विकास नभएको बताए। उनले स्थानीय तहमा दलको टिकट लिएर चुनावमा जाने कानुन नफेरिएसम्म स्थानीय तहबाट प्रवाह हुने विकासमा असर पर्ने तर्क राखे। 
‘स्थानीय तहमा दलीय टिकटमा चुनाव हुनुहुँदैन’ उनले भने।

कार्यक्रममा स्थानीय नेता सत्यजित कुमार झा, हिन्दु युवा सङ्घका जिल्ला अध्यक्ष दीपेश देव जोशी, मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्त, नेपाली काँग्रेसका युवा नेता जगदीश साह, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष ओम प्रकाश साह लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए।



नयाँ