arrow

मेगा बैङ्कको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
mega-agreement-venture-waste-dharan.jpg

काठमाडौँ। मेगा बैङ्क लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलो पटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ। भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरूप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैङ्क रहेको। उद्घाटन समारोहमा मेगा बैङ्कका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेली अतिथिका रूपमा उपस्थित थियो। फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय महत्त्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैङ्कका अध्यक्ष शाहले बताए।

यसै गरी, सिइओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत मद्दत मिल्ने बताइन्। दीर्घकालीन महत्त्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैङ्क सधैँ तत्पर रहेको उनले बताइन्। दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट हरेक दिन करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ। साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बैङ्कले जनाएको छ।

यस फोहोर प्रशोधन केन्द्रका संस्थापक द्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ। जसबाट धरानमा रहेका तीन पाङ्ग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ। धरानमा रहेका करिब ३ सय वटा टेम्पोहरुमा सिलिन्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ।

यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ। जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपैयाँको आयात कम हुने विश्वास लिइएको छ। विश्वका प्रायजसो मुलुकमा ठुलो मात्रामा प्रयोग भइरहेको सिएनजी ग्यास पेट्रोल भन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्री समेत रहेको छ।

मेगा बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० वटा तीन पाङ्ग्रे टेम्पोलाई सिएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ