arrow

अन्नपूर्ण गाउँपालिका कास्कीको गाउँसभा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Annapurna Gaunpalika kaski.jpg

पोखरा । अन्नपूर्ण गाउँपालिका कास्कीको ११ औंं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । 

गाउँसभामा चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक खर्च सम्बन्धी छलफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरूको समीक्षा तथा अब सम्पन्न गरिने कामहरूको बारेमा छलफल, बजेट रकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात् विभिन्न निर्णय गरिएको छ ।

गाउँसभाले खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धी ऐन २०७८, जलश्रोत ऐन २०७८, विनियोजन विधेयक ऐन २०७८ को पहिलो संशोधन २०७८ सर्वसम्मत रूपमा पारित गरेको छ ।

विनियोजन विधेयक ऐन २०७८ को पहिलो संशोधन २०७८ गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले टेबल गरेकी थिइन् समर्थन वडा नं. ५ का वडाध्यक्ष जीवनाथ पौडेलले गरेका थिए ।

यस्तै, खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धी ऐन २०७८ कार्यपालिका सदस्य विमला सुनारले टेबल गरेकी थिइन् भने समर्थन वडा नं. १ का वडाध्यक्ष भरतजंग कुँवरले गरेका थिए । 

अर्को जलश्रोत ऐन २०७८ कार्यपालिका सदस्य गङ्गा कुँवरले प्रस्तुत गर्दा वडा नं. २ का वडाध्यक्ष चूडामणि अधिकारीले समर्थन गरेका थिए । 

हिउँदे अधिवेशन भएको हुँदा कानुनका दफामा छलफल भई पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुन बाँकी कामहरूको बारेमा र विभिन्न तीन वटा विधेयकमा ११ वडाका वडाध्यक्ष तथा वडा सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । 

बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरू र गाउँपालिकाको गतिविधि बारे सभामा प्रश्न उठाइएको थियो । उक्त सभामा उठाएका सम्पूर्ण प्रश्नहरूको गाउँपालिका अध्यक्ष कुँवरले जवाफ दिएका थिए । 

सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष कुँवरले हालसम्म भएका कामहरू सन्तोषजनक तरिकाले सम्पन्न भएको बताए । 

साथै उनले भने, “हामीले गरेका कामहरूमा कुनै पनि अवरोध र नकारात्मक टीका-टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू उत्कृष्टता पूर्वक सम्पन्न भएका छन् ।”

बाँकी रहेका विभिन्न क्षेत्रमा विनियोजित गरिएको बजेट चाँडै कार्यान्वयनमा आउने पनि उनले बताए ।

अहिलेसम्मका कामहरूको सबै क्षेत्रबाट प्रशंसा भएकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरूलाई अध्यक्ष कुँवरले आग्रह समेत गरे । उनले सभामा उपस्थित सबै जनालाई सामूहिक रूपमा विकासका काममा सहयोग गर्न समेत आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ