arrow

मिडिया विधेयक पत्रकारको हित बमोजिम नै आउँछ : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
Bindu Kumar Thapa.jpg

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले मिडिया विधेयकका विषयमा धेरै शङ्का नगर्न आग्रह गरेका छन् । 

नेपाल पत्रकार महासङ्घको आयोजना र पत्रकार महासङ्घ कास्कीको संयोजनमा बुधवारदेखि पोखरामा सुरु भएको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री थापाले मिडिया विधेयक पत्रकारको हित बमोजिम नै आउने बताए । 

‘मिडिया विधेयकका विषयमा धेरै शङ्का नगर्न आग्रह गर्छु’, उनले भने, ‘आमसञ्चार विधेयक पत्रकारको हित बमोजिम नै ल्याउँछौँ, यसमा ढुक्क हुनुहोस् ।’ 

आम सञ्चार विधेयक अहिले विचाराधीन अवस्थामा रहेको र विधायन समितिमा छलफलकै क्रममा रहेको मन्त्री थापाले जानकारी गराए । पत्रकारिता जगतका विज्ञहरूलाई राखेर मिडियामैत्री कानून निर्माण गर्ने पक्षमा आफू रहेको भनाइ उनको छ । 

‘विधायन समितिका सभापतिसँग मिडिया विधेयकका बारेमा पटक पटक छलफल भइरहेको छ । बालबालिकाको विधेयक अहिले छलफलमा रहेछ र यसपछि आमसञ्चार विधेयकलाई अगाडि बढाउने प्रक्रियामा हामी छौं’, उनले भने । 

आमसञ्चार विधेयक समयानुकूल पास गरिसकेपछि प्रेस रजिस्टारको कार्यालय पोखरामा रहने र प्रेस रजिस्टारको नियुक्तिका विषयमा पनि देखिएका विवादलाई सम्बोधन गर्ने गरी मिडिया विधेयक ल्याइने मन्त्री थापाले बताए । 

पोखरा लगायत गण्डकी प्रदेशमा सञ्चालनमा रहेका मिडियाहरूले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई मन्त्री थापाको छ । 
मन्त्री थापाले पत्रकारिता क्षेत्रका लागि अहिलेको सरकार सकारात्मक रहेको स्पष्ट पारे । 

पत्रकारका हकहित, क्षमता विकास र संरक्षणका लागि बजेट विनियोजन समेत सकारात्मक रहेको उल्लेख गरे । 

पत्रकार महासङ्घ कास्कीको भौतिक स्तर उन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन गर्नु, प्रदेशका ११ वटै जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि ६० लाख विनियोजन गर्नुले अहिलेको सरकार पत्रकार र सम्बद्ध सङ्घसंस्थाको हित बमोजिम नै रहेको जनाउने उनले बताए । 

लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढङ्गबाट वितरण गर्ने गरी सञ्चार मन्त्रालय अगाडि बढेको उनले बताए । मन्त्री थापाले मन्त्रालयका लागि विनियोजित भएको बजेटलाई सदुपयोग गर्ने गरी आफू लागिरहेको उल्लेख गरे । 

‘मन्त्रीको रूपमा कार्यभार सम्हालिसकेपछि सम्झन योग्य काम गर्ने पक्षमा म छु । मेरो मन्त्रालयमा विनियोजित भएको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारीका साथ अगाडि बढिरहेको छु । अब छिट्टै रिजल्ट पाउनुहुनेछ’, उनले भने । 

मन्त्रालयमा आफूहरू यत्तिकै नबसेको र जागिर मात्र नखाएको अभिव्यक्ति उनको छ । पत्रकारिताको मर्यादा भित्र रहेर काम गर्न पत्रकारलाई मन्त्री थापाको आग्रह छ ।

पत्रकारिता क्षेत्रबाट पनि विकृति विसङ्गति मौलाएको भन्दै उनले यसको संरक्षणमा सम्बद्ध संस्था लाग्नुपर्ने उल्लेख गरे । कसैको व्यक्तिगत प्रतिष्ठालाई नै भङ्ग गर्ने गरी आधारहीन र एक पक्ष समाचार लेख्न पत्रकारलाई छुट नभएको उनले बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितालाई समाजसँग जोड्न आवश्यक रहेको बताए । जनतासँग नजोडिएको पत्रकारिताको काम नभएको उनको भनाइ छ । 

झाले हालको नेपाली पत्रकारितालाई नेपाली समाज र जनतासँग जोड्न नसकिएको बताए । उनले मिडियाकर्मी र मिडिया जिम्मेवार हुनुपर्ने आवश्यकतालाई औँल्याए । 

झाले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको बताए । उनले कताकता पत्रकारिता गर्ने व्यक्ति र संस्था नै थाकेको आभाष भएको उल्लेख गरे । 

पत्रकारिता क्षेत्रमा नयाँ जनशक्तिको खोज गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । पत्रकारिता युनिर्भरसिटीहरुमा पढाई भएता पनि पत्रकारिता नै गर्ने गरी नयाँ पुस्ता नआएको भनाई उनको छ । 

नेपाल पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीले महासङ्घ कास्की उत्पादनमुखी पत्रकारिताको पक्षमा रहेको उल्लेख गरिन् ।

उनले पत्रकारिताको पेशालाई मर्यादित बनाउने पक्षमा आफू रहेको बताइन् । भण्डारीले आमसञ्चार विधेयक पत्रकारको हित अनुरूप नै आउनेमा आशावादी रहेको बताइन् ।

आमसञ्चार विधेयक फलदायी भएर आउनुपर्ने धारणा उनको छ । 

कार्यक्रममा प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासङ्घ केन्द्रकी सदस्य सरिता तिम्सिना पङ्गेनी, पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासङ्घ केन्द्रका पूर्व उपाध्यक्ष गंगाधर पराजुली, पत्रकार महासङ्घ कास्कीका निर्वतमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । 

पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा ४० जना प्रशिक्षार्थी सहभागी छन् । तालिम आगामी माघ ४ गतेसम्म सञ्चालन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ