- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धी नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।
प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक (जेष्ठ नागरिक वार्ड) स्वास्थ्य सेवाको शुभारम्भ गर्दै उनले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताइन् ।
कोभिड-१९ को तेश्रो लहर ओमीक्रोनको संक्रमणबाट जोगिन उच्च मनोवलका साथ पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालन गर्नु अपरिहार्य भएको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारले नागरिकलाई सर्वसुलभ रुपमा खोपको व्यवस्थामा गर्दै आएको जानकारी दिइन् ।
प्रदेशमा कोभिडको कारण ज्यान गुमाउने परिवारका लागि जनही ५० हजार र आश्रित बाबबालिकाका लागि मासिक पाँच हजार रुपैयाको व्यवस्था गर्नका लागि आवश्यक कार्य विधि तयार भइरहेको उनले बताइन् ।
पोखरा वृद्धाश्रमले समाजका विपन्न, असहाय र बेवारिसे अवस्थाका जेष्ठ नागरिकलाई सेवा प्रदान गरेर राज्यको भूमिका निर्वाह गरेको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारबाट आश्रम सञ्चालनका लागि आवश्यक सहयोग रहने विश्वास व्यक्त गरिन् ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जोरियाट्रिक सेवा सञ्चालनसंगै बृद्धाश्रमका आमाबुबाका लागि मात्र नभईं समाजका सम्पूर्ण जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए ।
उनले दक्ष जनशक्तिद्धारा स्वास्थ्य परीक्षण, उमेर समूहका आधारमा जेष्ठ नागरिकमा देखिने समस्याको समाधान, औषधि सेवन लगायत आवश्यक सुविधा उपलव्ध गराउन जोरियाट्रिक सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले यसको निरन्तरताका लागि तीनै तहका सरकारको साथ र सहयोग आवश्यक रहने बताए । आश्रममा हाल विभिन्न जिल्ला र समुदायका ४५ जना जेष्ठ नागरिकसहित ५५ जना आवद्ध छन् ।
कार्यक्रममा जेष्ठ नागरिक महासंघ गण्डकीका उपाध्यक्ष गुमानसिंह कार्की, जेष्ठ नागरिक सरोकार समाजका ईच्छाबहादुर वाग्ले, पोखरा वृद्धाश्रमका सचिव केशव लम्साल, कोषाध्यक्ष धर्मबहादुर गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा वृद्धाश्रमको निरन्तरताको लागि सञ्चालित अक्षयकोषमा ५५ हजार ५५५ प्रदान गर्ने केदारनाथ अधिकारी र २५ हजार १२५ रुपैया प्रदान गर्ने सुन्दर विजय कोइराला तथा बृद्धाश्रमका उत्कृष्ट कर्मचारी लक्ष्मी सुवेदीलाई सम्मान गरिएको थियो ।