arrow

चाडपर्वका बेला शोकमा डुब्यो बन्दीपुर

logo
रासस
प्रकाशित २०७८ माघ १ शनिबार
Bandipur-.jpg

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो ।

माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

“चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ”, उनले भने ।

अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर खसेको थियो ।

जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको उनले बताए । “चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ”, उनले भने ।

दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो ।

घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो । “घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौँ”, अध्यक्ष थापाले भने ।

बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए । उनका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् ।

एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । “चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो”, उनले भने ।

प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका-६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको छ । 

दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ