arrow

राजधानी जनकपुर बनाउन 'लबिङ': प्रदेशसभा सदस्यहरूलाई खान र बस्न छुट

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ माघ ३ सोमबार
janakpur-hotel.PNG

जनकपुरधाम। प्रदेशसभा सदस्यहरूलाई खान र बस्न छुट दिने  होटल व्यवसायीले निर्णय गरेका छन् । प्रदेश राजधानी जनकपुर बनाउन 'लबिङ' गर्दै होटल व्यवसायीले प्रदेशसभा सदस्यलाई यस्तो 'अफर' गरेका हुन् ।

प्रदेशसभा सदस्यहरूलाई लजिङमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट उपलब्ध गराउने जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, होटेल एशोसिएसन नेपाल प्रदेश २, होटेल व्यवसायी तथा पर्यटन सङ्घ धनुषाले सर्वसम्मत निर्णय गरेको छ  । जनकपुरधामका करिब डेढ दर्जन होटल व्यवसायीले प्रदेश सांसदहरूलाई गाँस र बासमा छुट दिने निर्णय गरेका हुन । 

प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा प्रदेशसभामा छलफल भइरहँदा प्रदेशसभा सदस्यहरूले जनकपुरधाममा खान र बस्न महँगो रहेको टिप्पणी गरेका थिए । सांसदहरूको टिप्पणीपछि सोमबार होटल व्यवसायीले उनीहरूलाई छुट दिने निर्णय गरेको छ ।

प्रदेशसभा सदस्यहरूले प्रदेशको नामकरण र स्थायी राजधानीका सम्बन्धमा केही दिनदेखि जारी छलफलमा जनकपुरधाममा खाना र बस्न महँगो भएको भनेपछि होटल व्यवसायीहरूले छुटको व्यवस्था गरे ।

होटल सीताशरण, बेलकम, मानकी, सिटी पार्क, राजदरबार, रामजानकी, अन्नपूर्णा, सीता प्यालेस, वृन्दाव, शुभम् राजघराना, आनन्द, सिटी स्टार, रामा तथा परफेक्ट होटलले प्रदेशसभा सदस्यहरूलाई खाना र बस्नका लागि छुटको व्यवस्था गरेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र कुमार महासेठले बताए ।



नयाँ