arrow

कोरोना संक्रमण तीव्र हुँदासमेत पालना भएन स्वास्थ्य मापदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
ktm-vacle.jpg

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको संक्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ । आइतबार पाँच हजारभन्दा कममा कोरोना संक्रमण देखिएकामा आज भने छ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रत्येक दिन भाइरस संक्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ । पशुपतिनाथ मन्दिरमा भीड बढ्न थालेपछि कसरी सुरक्षित रुपमा दर्शन गराउने भन्ने विषयमा छलफल भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । 

“संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशनासुर पशुपति क्षेत्रको व्यवस्थापन गर्ने तयारीमा छौँ, अहिले भीड बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गराएका छौँ”, उनले भने । पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा विभिन्न मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकारले तोकेको २५ जनाभन्दा बढीको सहभागिता देखिएको छ । 

सार्वजनिक यातायातमा सिट क्षमता मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले अनुगमन गरेका छैनन् । यात्रु रश्मिला प्रजापति जानैपर्ने समयमा सवारी नपाउँदा उभिएरै यात्रा गर्न बाध्य हुनुपरेको गुनासो गर्छन् । 

बजार, पसललगायत स्थानमा पनि सरकारले तोकेकोभन्दा बढीको उपस्थिति छ तर कुनै पनि निकायले अनुगमन नगर्दा समस्या बल्झन सक्ने देखिएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउछन् । 

बेलैमा उचित कदम नचाले अवस्था पहिलेको भन्दा भयावह हुनसक्ने भएकाले सरोकार भएका सरकारी निकायले अनुगमन गरेर मापदण्ड पालना गराउनुपर्ने उनको माग छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ