arrow

सत्तारूढ दलबीच छलफल : समयमै स्थानीय तह निर्वाचन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
five-party-gathbandhan.jpg

काठमाडौं ।  सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सिमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवबहादुर गुरुङले जानकारी दिए । 

बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिएको जानकारी दिँदै उनले कोभिड-१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको बताए । 

यस बारेमा सत्तारुढ पाँच दलले आ-आफ्नो दलभित्र थप छलफल गर्ने र शीर्ष नेताहरुले एक-दुई दिनमा टुङ्गो लगाउने सहमति भएको नेता गुरुङले बताए । निर्वाचनको मिति भने मन्त्रिपरिषद्ले तोक्ने बैठकमा सहमति भएको छ । 

यसैगरी यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई कोभिड-१९ को संक्रमणको चुनौतीका बाबजुद सफल रुपमा सम्पन्न गराउने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी थिए ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको निर्वाचन यही माघ १२ गते हुँदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ