arrow

कास्कीमा आंशिकदेखि कडा लकडाउन गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
cdo office kaski hamrakura.jpg

पोखरा । कास्कीमा कोरोना संक्रमण ह्वात्तै बढेपछि कडा लकडाउनको तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार थप ९ वटा बुँदामा आदेश जारी गर्दै कडा लकडाउनको संकेत गरेको छ । 

कास्कीमा पछिल्लो सातामा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेको थियो । सोमबार साँझसम्ममा कास्की सक्रिय संक्रमितको संख्या ८८० जना पुगेको छ । 

अघिल्लो पटक एक हजार सक्रिय संक्रमित नाघेपछि लकडाउनको प्रक्रिया शुरु गरिंदै आएको थियो । अहिले सक्रिय संक्रमितको संख्या एक हजार नजिक पुगेपछि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रशासनले आंशिकदेखि पूर्ण लकडाउनको निर्णय गरेको हो ।

गृह मन्त्रालयको निर्देशन र कोभिड १९ व्यवस्थापन केन्द्र कास्कीको बैठकले तत्कालै लागू हुने गरी विभिन्न व्यवसायमा पूर्ण बन्देज गरेको छ ।

माघ १५ गतेसम्म  सिनेमा हल, पार्टी प्यालेस, नाच घर, क्लव, डान्सबार, दोहोरी साँझ, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर लगायत व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ । प्रशासनले शैक्षिक संस्थाहरू, सभा सम्मेलन, गोष्ठी, सेमिनार, तालिम, महोत्सव र धार्मिक क्रियाकलाप समेत रोक्न भनेको छ । 

खेलकुद भने दर्शक नराख्न र पूर्व निर्धारित खेलमा खोप कार्ड भएका दर्शकलाई मात्रै प्रवेश गराउने निर्णय गरेको छ । दर्शक क्षमताको एक तिहाइ मात्रै राख्न पाइने भएको छ ।

होटल तथा रेस्टुरेन्टमा खोप कार्ड भएकाहरूलाई मात्र प्रवेश दिन भनिएको छ भने डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, पसलहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने नियम छ । विवाह, व्रतबन्ध, पूजापाठ जस्ता कार्यहरूमा पनि २५ जनासम्म सहभागी हुन पाइने छ ।

सार्वजनिक गाडीहरूमा यात्रा गर्दा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने, हवाई जहाजको यात्रा गर्दा खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । नियम पालना नगरे कानुन अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ