- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्की प्रहरीले करिब ३९ लाख रुपैयाँ बराबरको करिब ५०० ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं.७ बस्ने वर्ष २० का अम्मर विश्वकर्मा र म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ घर भएका वर्ष २९ का अङ्कित सुनार रहेका छन् ।
अवैध रूपमा सुनको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले अम्मरलाई माघ १ गते र अङ्कितलाई माघ ३ गते पक्राउ गरेको हो ।
उनीहरू दुवै जना काठमाडौंबाट पोखरा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नं. ३० पावर हाउसबाट पक्राउ परेका हुन् ।
अम्मरको साथबाट अवैध सुनका तीन थान सिक्री तौल गर्दा २० तोला ४३ लाल आठ प्वाइन्ट (२३८.४४ ग्राम) बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
डिएसपी तिवारीका अनुसार अङ्कितको साथबाट अवैध सुनका गरगहना (सिक्री पाँच थान, औँठी एक थान र रिङ एक जोर) तत्काल तौल गर्दा २१ तोला ९० लाल तीन प्वाइन्ट (२५५.४७ ग्राम) बरामद भएको हो ।
पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको डिएसपी तिवारीले जानकारी दिए ।