arrow

नेपालमा हालसम्मकै उच्च संक्रमणदर : ५२ प्रतिशत नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
corona-2021.jpg

काठमाडौं । नेपालमा कोभिड १९ संक्रमित बढेसँगै संक्रमणदर पनि बढेको छ । बुधवारसम्ममा नेपालको संक्रमणदर हालसम्मकै उच्च भएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत संक्रमणदर ५२ दशमलव ५७ प्रतिशत पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो नै हालसम्मको उच्च संक्रमणदर भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताए । 

संक्रमित सङ्ख्या मङ्गलवार देखिएको नयाँ संक्रमितभन्दा एक हजार ९४ ले बढेको छ । मङ्गलवार देशभरमा १० हजार २५८ नयाँ संक्रमित पुष्टि भएको थियो । 

उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये नौ हजार ५०२ को पीसीआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २३ हजार ४०९ को नमुना परीक्षण गरिएको थियो । १८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २८ र आइसियुमा १६९ जना रहेका छन् । होम आइसोलेसनमा ४६ हजार ५१५, संस्थागत आइसोलेसनमा एक हजार ४१४ गरी आइसोलेसनमा जम्मा ४७ हजार ९२९ रहेका छन् । संस्थागत क्वारेनटिनमा १२६ रहेका छन् । 

कोभिड संक्रमण दैनिक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सह प्रवक्ता डा अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उनले बताए । 

ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उनले बताए । उनले भने, “संक्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ