arrow

संक्रमण दर ५२.५७ प्रतिशत, सक्रिय संक्रमित ५० हजार नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
omicron-virus.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दूमा पुगेको छ । अहिलेसम्मकै बढी संक्रमण दर पुगेको छ । बुधबार ५२.५७ प्रतिशत पुगेको छ । अर्थात् एक सय जनाको पीसीआर परीक्षण गर्दा ५२.५७ जना संक्रमित पाइएका हुन् । 

बुधबार ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो नै हालसम्मको उच्च संक्रमण दर भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताए । मंगलबार १० हजार २५८ जना संक्रमित थपिएकामा बुधबार एक हजार ९४ जना थपिएका हुन् । 

पीसीआर परीक्षणमा पनि यो सबैभन्दा उच्च हो । यसअघि सन् २०२१ को मे २१ मा सबैभन्दा बढी ९ हजार ३१७ संक्रमित थपिएकामा बुधबार १९ जनवरी २०२२ मा ९ हजार ५०२ संक्रमित पाइएका हुन् । 

त्यस्तै उपत्यकाका तीन जिल्लामा बुधबार छ हजार ३४३ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।              

बुधबार २३ हजार ४०९ को नमुना परीक्षण गरिएको थियो । १८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २८ र आईसीयूमा १६९ जना रहेका छन् । होम आइसोलेसनमा ४६ हजार ५१५, संस्थागत आइसोलेसनमा एक हजार ४१४ गरी आइसोलेसनमा जम्मा ४७ हजार ९२९ रहेका छन् । संस्थागत क्वारेनटिनमा १२६ रहेका छन् । 

सक्रिय संक्रमित बढेर ४७ हजार ९२९ जना रहेका छन् । निको हुने दर ९३.१ प्रतिशतमा झरेको छ । अहिलेसम्म ११ हजार ६२८ जनाको मृत्यु भइसकेको छ । 

कोभिड संक्रमण दैनिक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सह प्रवक्ता डा अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उनले बताए । 

ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उनले बताए । उनले भने, ‘संक्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्ट लगायतले मापदण्डको पालना गर्न खाँचो छ ।’



नयाँ