- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।
प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।
आगामी वैशाखदेखि स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोक्नेबारे सहमति जुटिसकेको छैन । चुनावबारे अन्योल आइरहेका बेलामा देउवाले सम्बोधन गर्दै चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य
प्रधानमन्त्री देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् ।
नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।
खोपको प्रभावकारिता
प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताएका छन् ।
सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् ।
साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
आयो मेलम्चीको भाका
प्रधानमन्त्री देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् ।
देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।
मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ ।
आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।