arrow
ADVERTISEMENT

संक्रमणलाई लिएर गृहमन्त्रीले मुख्यमन्त्री र प्रजिअलाई गरे फोन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
balkrishna-khad.jpg

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँडले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन् ।

गृहमन्त्री खाँडले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए । 

उनले कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसँग शीतलहर तथा कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे पनि जानकारी लिएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाँडले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवाकेन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास तथा योजनाबारे मन्त्री खाँडले जानकारी लिएको बताए । 

उनले भने, “गृहमन्त्रीले सीमानाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न दिर्नेशन दिए ।

गृहमन्त्री खाँडले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउने व्यवस्थाबारे पनि चासो राख्नुभएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाँडले जानकारी लिएको बताए । 

“घरमै आइसोलेसनमा बस्न चाहने संक्रमितलाई घरसम्म पुर्‍याउन गरिएको व्यवस्था जानकारी लिँदै संक्रमितलाई सहजरूपले घरसम्म पुर्‍याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टिजेन परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिए”, प्रजिअ दाहालले भने ।

गृहमन्त्री खाँडले झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था र एन्टिजेन परीक्षणबारे टेलिफोनमार्फत जानकारी लिएको प्रेस संयोजक भट्टराईले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ