- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो । यसले रगतलाई पम्प गरी रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरूमा पुर्याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखी ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रूपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरू जस्तै सोडियम, पोटासियम, क्याल्सियम आदिको आवश्यकता पर्दछ । यसका लागि मुटुको मांसपेशीभित्र साना तथा मझौला खालका रगतका नलीहरू हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी पनि भनिन्छ ।
जब मुटुको धमनीहरुमा विभिन्न कारणले गर्दा बोसोजन्य पदार्थ जम्मा भई धमनीहरु साँघुरो हुँदै जाने हुन्छ । त्यसलाई मुटुको धमनीको रोग भनिन्छ । मुटुको धमनीहरूको साँघुरो भएमा मुटु स्वयंले अक्सिजन, ग्लुकोज लगायतका अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर हुन्छ ।
कमजोर र साँघुरो रक्तनलीहरु सजिलै फुट्न सक्छ । जब मुटुको धमनीहरु एक्कासि बन्द हुन्छ, तब मुटुको केही खण्डले नियमित काम गर्न सक्दैन, त्यसैलाई हृदयाघात भनिन्छ ।
हृदयाघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरि धमनी वा धमनीका शाखा भित्रै आकस्मात रगत जम्न गई रगतको थेग्लाले धमिनि थुनिदिँदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांसपेशीहरू अक्सिजन र अन्य पोषक तत्त्वहरूको अभावमा देखा परेको आपत्कालीन समस्या हो ।
यो समस्या आकस्मात देखा पर्ने भए पनि यसको पछाडि लामो सिलसिला जोडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमनीका भित्ताहरूमा लामो समयदेखि कोलेस्ट्रोल क्याल्सियम र मृत्तकोषहरू जम्मा भएर धमनी साँगुर्याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।
यी पदार्थहरू जम्मा भएर धमिनी साँघुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउँछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरिक्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साँघुरिएको ठाउँमा नसाको भित्री पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्ट्रोल बनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्त्वको अभावमा मर्न जान्छन् । यसरी हृदय तन्तुहरू मर्न जाँदा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशील अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।
हृदयाघातका लक्षणहरू हृदयाघात भएको बेलामा छातीको बीच भागमा दुख्ने,भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, एकासी बढेर जाने, रिँगटा लाग्नेजस्ता देखिन्छ । कसै कसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरू देखिन सक्छन् ।
उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यामको कमी, उच्च कोलेस्ट्रोल, अत्यधिक तनाव तथा नकारात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारण, पुरुष लैङ्गिकता आदि कारणले हृदयाघात हुनसक्छ ।
हृदयाघातबाट बच्नका लागि के गर्ने त ? डा. लम्सालको सुझावहरू यस्तो छन् । नियमित स्वस्थ खानपान गर्न, नुन तथा चिल्लो पदार्थ कम खाने बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने । दैनिक आधा घण्टा देखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने । मद्यपान तथा धूम्रपान सेवन नगर्ने, स्वास्थ्य परीक्षण गर्ने रक्तचापको मापन लगायत रगतमा सुगर तथा कोलेस्ट्रोलको मात्रा परीक्षण गराउने बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझावअनुसार औषधी सेवन गर्ने ।
पारिवारिक सावधानी अपनाउने परिवारमा कम उमेरमै मुटुरो देखिएमा बाँकी सदस्यहरूले नियमित परीक्षण तथा थप सावधानी अपनाउने । शरीरको तौल नियन्त्रणमा राख्ने र तनावरहित रहने वातावरण बनाउने, तथा सकारात्मक सोच राख्ने र थप सुझावको लागि सम्बन्धित चिकित्सकसँग परामर्श गर्ने ।
हृदयाघातका कारण विश्वमा १ करोड ७५ लाख मानिसको हरेक वर्ष मृत्यु हुने गर्दछ । हाल नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गइरहेको छ । विभिन्न उपचार पद्धतिका तथा औषधीको बाबजुद हृदयाघात भइसकेपछि मृत्युदर अझै नै उच्च नै छ तसर्थ रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस महारोग सम्बन्धी न्यूनतम जानकारी राख्ने तथा मुटु रोगको जोखिम बढी भएका व्यक्तिहरूले नियमित परीक्षण गराउने माथि उल्लेखित लक्षणहरूको केही शङ्का भएमा तुरुन्त अस्पताल गई परीक्षण गर्नु पर्दछ । (डा. लम्साल वरिष्ठ मुटु रोग विशेषज्ञ हुन्)