- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले ८ वटा सरकारी गाडीमा तोडफोड गरेका छन् । मधेस प्रदेशमा राष्ट्रियसभा चुनाव अवरोध गर्ने उद्देश्यले राउतको जनमत पार्टीका कार्यकर्ताहरूले मतदानका लागि आउने मतदाता चढेको ८ वटा सरकारी गाडीमा तोडफोड गरेका हुन् ।
बुधबार राउतका कार्यकर्ताहरूले जनकपुरधामको पिडारी चोकमा लाठी, ढुङ्गा मुढा गरेर जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य अशोक यादवको गाडीसहित अन्य आठ वटा गाडी तोडफोड गरेर क्षति पुर्याएका छन् । राउतका कार्यकर्ताहरूको आक्रमणमा प्रदेशसभाका सदस्य यादवको हात भाँचिएको छ । भने सर्लाही जिल्लाका हरिवन नगरपालिकाको नगरप्रमुख गणेशप्रसाद साह र उपमेयर रेणुका पौडेल पनि घाइते भएका छन् ।
राउतका कार्यकर्ताले प्रदेश २-०३-०१ झ ००२०, २-०१ झ ००१८, प्रदेश २-०१ झ-००८० नम्बर लगायतका ८ गाडीमा तोडफोड गरेको इलाका प्रहरीले जनाएको छ।
किसान आन्दोलन अन्तर्गत कार्यकर्ताहरूले मतदान अगाडी मल देऊँ भन्दै जनकपुरधामको ठाउँ ठाउँबाट प्रदर्शन गरेका थिए । कतिपय स्थानमा प्रहरीसँग झडप समेत भएको थियो । दुई पक्षबिचमा झडप हुँदा राउतका ८ जना कार्यकर्ता तथा ४ जना प्रहरी समेत घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
झडपमा घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाम सहितका अन्य स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ ।