arrow

काेराेना संक्रमण युवामा बढी, संक्रमित हुनेमा २१ देखि ३० वर्षका सबैभन्दा धेरै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
corona-age.PNG

काठमाडौं । पछिल्लो २४ घण्टामा नयाँ थपिएका ६ हजार ८ सय २७ जना कोभिड १९ संक्रमितमध्ये सबैभन्दा बढी युवा अर्थात् २१ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । यो समूहका संक्रमित हुनेको संख्या १ हजार ४ सय ५७ रहेको छ ।

यस्तै दोस्रो सबैभन्दा बढी संक्रमित हुनेमा पनि ३१ देखि ४० वर्ष उमेर समूह रहेको छ । यो उमेर समूहका १ हजार २ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४१ वर्षदेखि ५० का ७१०, ५१ देखि ६० का ४९९, ६१ देखि ७० का २८७, ११ देखि २० का २३९, ७१ देखि ८० भन्दा माथिका १५६, ० देखि ९ वर्षका ९३ र अज्ञात उमेरका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि बिहीबार पनि सबैभन्दा बढी संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका १ हजार ९ सय ८४ जना रहेका थिए । यस्तै बुधबार पनि सबैभन्दा बढी संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समूहकै १ हजार ८ सय ८९ जना रहेका थिए ।

यसरी हेर्दा बढीजसो संक्रमण युवा र त्यसमा पनि २१ देखि ३० वर्ष उमेरकामा फैलिरहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ९ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा नयाँ थपिने संक्रमितको संख्या देशभर नयाँ थपिने ६ हजार ८ सय २७ जनाको झन्डै आधा हो ।

काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा समग्र संक्रमण दर ३४।४ प्रतिशत देखिएको छ । यस अवधिमा १९ हजार ८ सय ६९ जनाको नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा थप १० जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअवधिमा थप ६ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिएका छन् ।

यस अवधिमा थप ५ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने, हाल सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ पुगेको छ ।



नयाँ