- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अहिले सत्ताधारी दलहरुबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौता सदनबाट पारित गराउने वा नगराउने भन्ने विषयमा किचलो परेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिइरहेका छन् ।
कांग्रेस प्रमुख प्रतिपक्षमा हुँदा पनि एमसीसी सम्झौता पारित गराउनु पर्छ भन्ने पक्षमा थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकारले एमसीसी पारितका लागि सदनमा प्रस्ताव दर्ता गराएका थिए । त्यतिबेला नेकपा (एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको) सरकारको नेतृत्व ओलीले गर्दथे । तर माओवादी केन्द्रका तर्फबाट सभामुख बनेका कृष्णबहादुर महराले एमसीसीलाई अगाडि बढ्न दिएनन् ।
एमालेले अहिले केही बोलेको छैन । उसले एमसीसी पास नगर्ने भनेको छैन । यद्यपि एमालेका नेता डा. भीम रावल भने विरोधमै छन् । त्यसबाहेक एमालेका नेताहरुले प्रतिक्रिया दिएका छैनन् । उनीहरुले सत्ताधारी गठबन्धनले निर्णय गरेपछि प्रतिक्रिया दिने भनेका छन् ।
तर सत्तागठबन्धनको कांग्रेस र जनता समाजवादी पार्टी जसपा बाहेक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने विरोधमा छन् । सोही कारण ओलीले संसदमा एमसीसी पारित गराउन सकेका थिएनन् ।
अहिले आएर देउवाले दबाब दिएपछि सत्ताको रसास्वादन गरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई अप्ठेरो परेको छ । संसदमा एमसीसीबारे छलफल गर्ने योजना बनेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको बहानामा संसद बैठक माघ २६ गतेसम्म सारेको आरोप लागेको छ ।
जबकि संसद बैठक गत आइतबार माघ १६ गते बस्ने तय भएको थियो । तर अचानक सापकोटाले बैठकको समय सारे । यसअघि पनि उनले आफू सभामुखबाट राजीनामा दिन तयार भएको तर एमसीसी कुनै हालतमा संसदमा पेश गर्न नदिने बताएका थिए ।
अमेरिकाले फेब्रुअरी १ अर्थात् माघ १८ गते मंगलबारसम्म एमसीसी पास नगरे नेपालबाट यो कार्यक्रम फिर्ता लैजाने बताइसकेको छ । यो परिस्थितिबीच देउवाको प्रस्तावलाई सत्तागठबन्धनमा रहेका विशेषगरी माओवादी र नेकपा एसले स्वीकार गरेनन् भने गठबन्धन पनि अस्तव्यस्त हुने निश्चित प्रायः छ ।
दलहरु गठबन्धनले मिलेरै चुनाव लड्ने बताइरहँदा आफ्नो मात्र स्वार्थ हेरेको भन्दै देउवा रिसाएको बालुवाटार स्रोत बताउँछ । यसै विषयलाई लिएर प्रचण्ड र नेपालले देउवासँग केही समय मागेको स्रोत बताउँछ ।