arrow

देउवालाई धोका दिँदै प्रचण्ड, चिनियाँ नेताको फोन आएपछि गठबन्धनमा हल्लीखल्ली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
deuba-prachanda-final-433.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौता सदनबाट पारित गराउने, नगराउने विषयमा सत्ता गठबन्धन दलमा छलफल भैरहँदा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिडियो वार्ता गरेका छन् । 

शनिबार साँझ गरिएको भिडियो वार्ताको बारेमा अहिलेसम्म बाहिर ल्याइएको छैन ।  सुङले चीन नेपाल मित्रता, वल्ड इकोनोमिक फोरममा सीपीसी महासचिव सी चिनफिङको मन्तव्य, चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे छलफल गरिएको भनिए पनि नेपालको संसदमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा समेत छलफल भएको स्रोतले जानकारी दिएको छ । 

शनिवार साँझ अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौता सदनबाट पारित गराउने, नगराउने विषयमा सत्ता गठबन्धन दलमा छलफल भएको थियो । त्यसपछि घर पुगेका प्रचण्डसँग चिनियाँ विदेश विभाग प्रमुख सुङ थाओले भिडियो कल गरेको स्रोतले जनाएको छ ।
 
सत्ता गठबन्धनको शनिबार बेलुकी बसेको बैठकपछि सत्ता गठबन्धन दलले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदल सहितका चार दलका शीर्ष नेताहरुको अलग्गै बालुवाटारमा बैठक बसेको थियो । त्यस क्रममा एमसीसीबारे तुरुन्तै निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुलाई चाँडो निर्णय दिन आग्रह गरेका थिए । 

तर प्रचण्ड घर पुगेपछि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सुङले भिडियो कल गरेको र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटासँग पनि प्रचण्डले सो विषयमा छलफल गरेको स्रोतको दाबी छ । 

यद्यपि प्रचण्डसँग छलफल हुनअघि नै संसदको बैठक भने स्थगित भएको थियो । चीन सधै एमसीसीको विपक्षमा रहेको छ । गत मंसिरको अन्तिम साता पनि चिनियाँ कम्युनिष्ट पार्टीका नेताले नेपालका राजनीतिक दलका नेताहरुलाई टेलिफोन गरी एमसीसी संसदमा टेबुल नगर्न दबाब दिएका थिए । 

त्यतिबेला चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्ष दल एमालेलाई यस्तो दबाब दिएको थियो । चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसदमा  एमसीसी पेस नगर्न दबाब दिएको भए पनि त्यतिबेला पनि यो विषय गोप्य राखिएको थियो । 

त्यतिबेला चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आइडीसीपीसी) का उपमन्त्री चेन चाओले नेकपा एमाले महासचिव शंकर पोखरेलसँग पनि कुराकानी गरेका थिए । 

उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिने क्रममा दुई पार्टीबीच अन्तरसम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजानु पर्नेमा जोड दिँदै एमसीसीमा पुनर्विचार गर्न आग्रह गरेका थिए । 

उपमन्त्री चेनले नेपालमा संसद् अधिवेशन शुरु हुन लागेको र बैठकमा पेस गर्नुअघि एमसीसीलगायत यससँग सम्बन्धित अन्य प्रस्तावमा पुनर्विचार गर्न कांग्रेस, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगसमेत छलफल भएको जानकारी गराउँदै एमालेले पनि यो विषयमा पुनर्विचार गर्नुपर्ने बताएर दबाब दिएका थिए । 

शनिवार साँझ प्रचण्डसँग भने सुङले के के कुराकानी गरे भन्ने बारेमा अझै खुलेको छैन । गठबन्धन दलको बैठकमा प्रधानमन्त्री देउवाले जसरी पनि आफू एमसीसी पारित गर्ने पक्षमा रहेको जनाउ दिएका बेला प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले के के विषयमा कुराकानी गरे भन्ने बारेका गठबन्धन दलभित्र पनि चासो राखिएको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ